गान्तोक, 28 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम आगमन पहिले निर्धारित समयभन्दा एक घण्टा अघि सरेको छ। अब प्रधानमन्त्री बिहान 9:45 बजीसम्म भारतीय सेनाको लिबिङस्थित हेलीप्याडमा आइपुग्ने छन् भने 10 बजी राजधानीको पाल्जोर स्टेडियममा आइपुग्ने छन्। उक्त जानकारी गान्तोक जिल्लाका वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले दिएका हुन्।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा वरिष्ठ पुलिस अधीक्षक लेप्चाले प्रधानमन्त्रीको आगमनलाई लिएर गरिएको सुरक्षा व्यवस्थाको जानकारी गराउॅंदै प्रधानमन्त्री मोदीको कार्यक्रम पहिले निर्धारित भन्दा एक घण्टा अघि सरेको बताए। उनले प्रधानमन्त्री बिहान 9:05 बजी बागडुग्रा हवाई अड्डाबाट सिक्किम प्रस्थान हुनेछन् भने लिबिङस्थित हेलीप्याडमा 9:45 बजी आइपुग्ने बताए। यसपछि, प्रधानमन्त्री 10 बजी पाल्जोर स्टेडियमा आइपुग्ने छन् भने 11:30 बजीसम्म प्रधानमन्त्रीको कार्यक्रम हुनेछ। उनले 11:30 बजीदेखि 11:45 बजीसम्म प्रधानमन्त्रीले क्लोजडोर बैठक गर्नेछन् भने 12 बजी पश्चिम बंगालको अलिपुरद्वारा प्रस्थान गर्ने बताए। उनले बिहान आठ बजीदेखि गान्तोकका सबै मार्गहरूलाई ग्रीन कोरिडोर घोषित गरेर वाहनहरूको चलाचल बन्द गरिने बताए।
उनले कार्यक्रम समाप्त भएपछि आधा घण्टासम्म जनसाधारणलाई स्टेडियमभित्र नै बस्न आग्रह गरे। प्रधानमन्त्रीको क्लोजडोर बैठक समाप्त भएर प्रधानमन्त्री प्रस्थान गरेपछि जनसाधारणलाई स्टेडियमबाट बाहिर जाने अनुमति दिइने उनले बताए। उनले भोलि गान्तोक क्षेत्रका सबै शैक्षिक संस्थानहरू र कार्यालयहरू बन्द रहनेछन् पनि जानकारी गराए।
उनले जनसाधारणलाई बिहान आठ बजीभन्दा अगाडि नै कार्यक्रम स्थलमा आइपुग्ने आह्वान गरे। ढिलोगरि आउने जनसाधारणको निम्ति पनि जिल्ला प्रशासनले ठाउॅं ठाउॅंमा बसहरू तैनाथ गरेर आवागमनको सुविधा उपलब्ध गराउने बताए। उनले कार्यक्रम स्थलमा बोतल लगायत फ्याक्न सक्ने सामग्रीहरू ल्याउने पाइने छैन भनी बताए। उनले स्टेडियमभित्र प्रवेश गर्नअघि जनसाधारणको कडाईका साथ जॉंच गरिने पनि बताए।
हिन्दुस्थान समाचार / बिशाल