प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे
प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे


गान्तोक, 29 मई (हि.स.)। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आज राजधानीको पाल्जोर स्टेडियममा एक भव्य कार्यक्रम आयोजन गरियो। कार्यक्रममा देशका प्रधानमन्त्री नरेन्द्र मोदी बागडोग्राबाट भर्चुअल रूपमा सहभागी बने। प्रतिकूल मौसमका कारण प्रधानमन्त्री बागडोग्राबाट सिक्किम आउन सकेनन्।

प्रधानमन्त्रीले भर्चुअल माध्यमद्वारा सिक्किमका जनतालाई सम्बोधन गर्दै विभिन्न प्रमुख परियोजनाहरूको शिलान्यास गरे। उनले गान्तोक जिल्लाको नाम्लीमा स्वर्ण जयन्ती सम्मेलन केन्द्रको शिलान्यास गरे, जसलाई राष्ट्रिय र अन्तरराष्ट्रिय कार्यक्रमहरूको लागि एक प्रमुख गन्तव्यको रूपमा डिजाइन गरिएको छ।

यसैगरी, प्रधानमन्त्रीले गान्तोक जिल्लामा सांस्कृतिक र खेलकुद गतिविधिहरूलाई प्रवर्द्धन गर्न डिजाइन गरिएको स्वर्ण जयन्ती खेलकुद तथा सांस्कृतिक परिसरको शिलान्यास गरेका छन्। नाम्ची जिल्लाको याङयाङमा रहेको भाले ढुङ्गामा प्रस्तावित स्काईवाक परियोजनाको पनि उनले शिलान्यास गरे, जुन देशको पहिलो इको टुरिज्म स्काईवाक हुनेछ।

उनले भारत-चीन सीमा नजिकै पर्यटन पूर्वाधार विकासको पनि शिलान्यास गरेका छन्, जसमा बहुस्तरीय पार्किङ सुविधा, पैदल मार्ग, एस्केलेटर, क्याफेटेरिया, मेडिकल इन्फर्मरी र इन्डो-चीन गेट समावेश छन्। यसैगरी, गेजिङ जिल्लाको उत्तरेमा स्थित सिङ्गशोर पुललाई ग्लास स्काईवाक पुलमा रूपान्तरण गर्ने परियोजनाको पनि शिलान्यास गरेका छन्। यहॉंबाट बन्जी जम्पिङको पनि सुविधा रहनेछ।

यस अतिरिक्त, प्रधानमन्त्रीले गान्तोक जिल्लामा एउटा महिला छात्रावास र पाकिम जिल्लाको निम्ति 100 पलङयुक्त जिल्ला अस्पतालको पनि शिलान्यास गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande