गान्तोक, 29 मई (हि.स.)। देशका प्रधानमन्त्री नरेन्द्र मोदी आज सिक्किम भ्रमणमा आइरहेका छन्। प्रधानमन्त्री मोदीले 29 र 30 मईको दिन सिक्किम, पश्चिम बङ्गाल, बिहार र उत्तर प्रदेशको दौडाहा गर्ने कार्यक्रम रहेको छ। चार राज्यका भ्रमणको शुरुवात प्रधानमन्त्रीले सिक्किमबाट गर्नेछन्।
सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह अन्तर्गत राजधानीको पाल्जोर स्टेडियममा आयोजना भइरहेको एक भव्य कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो उपस्थिति दिने छन्। प्रधानमन्त्रीले सिक्किममा विविध विकास परियोजनाको शिलान्यास एवं उद्घाटन पनि गर्नेछन्।
परियोजनामा नाम्चीको ₹750 करोड लागतको 500 पलङ क्षमताको जिल्ला अस्पताल, गेजिङ जिल्ला अन्तर्गत पेलिङको साङ्गाछोइलिङमा यात्रीवाहक घिर्लिङ, गान्तोक जिल्ला अन्तर्गत साङखोलाको अटल अमृत उद्यानमा भारत रत्न अटलबिहारी वाजपेयीको सालिग लगायत अन्य सामेल छन्। प्रधानमन्त्रीले राज्य बनेको 50 वर्षको अवसरमा स्मारक मोहर, स्मृति सिक्का अनि मुद्राङ्क पनि लोकार्पण गर्नेछन्।
प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत जनाउन सिक्किम पूर्ण रूपमा तयार छ। राजधानीमा आज बिहान लगभग 4-5 देखि नै सवारी साधनहरू र मानिसहरूको चहल-पहल शुरू भएको देखियो। प्रधानमन्त्रीको कार्यक्रम निर्धारित समयभन्दा एक घण्टा अगाडिदेखि शुरू हुने हिजो गान्तोक जिल्लाका वरिष्ठ पुलिस अधीक्षक तेन्जिङ लोडेन लेप्चाले पत्रकारहरूलाई जानकारी गराएका थिए।
बिहान आठ बजीदेखि गान्तोक नगर निगम क्षेत्रमा आपातकालिन सेवा र भीआईपीहरू बाहेक अन्य वाहनहरूको चलाचल बन्द गरिने छ। राजधानी भित्र प्रवेश गर्ने र राजधानीबाट बाहिर निक्लिने वाहनहरूलाई पनि बिहान आठ बजी भन्दा अगाडि नै प्रवेश-निक्लिन निर्देश दिइएको छ।
कार्यक्रममा सहभागी बन्ने राज्यका छहवटै जिल्लाबाट मानिसहरू सिक्किम आइरहेका छन्। राज्यका 32 वटै निर्वाचन क्षेत्रबाट मानिसहरूलाई राजधानीसम्म ल्याउनका लागि 15 सयभन्दा धेरै वाहनहरूको व्यवस्था गरिएको छ। मानिसहरू लामबद्ध भएर कार्यक्रम स्थल पाल्जोर स्टेडियमतिर अगाडि बढिरहेका छन्।
कार्यक्रम तालिका अनुसार, प्रधानमन्त्री मोदी बिहान 9:05 बजी बागडुग्रा हवाई अड्डा (पश्चिम बंगाल) बाट हेलीकप्टरमा सिक्किम प्रस्थान हुनेछन् र राजधानीको लिबिङस्थित भारतीय सेनाको हेलीप्याडमा लगभग 9:45 बजी आइपुग्ने छन्। यसपछि, प्रधानमन्त्री 10 बजी पाल्जोर स्टेडियमा आइपुग्ने छन्। सिक्किमको 21 जातिका सदस्यहरू आ-आफ्नो पारम्परिक भेषभूषामा पारम्परिक वाद्यवादनको साथमा राष्ट्रिय राजमार्ग 10 छेउ ठाउॅं-ठाउॅंमा प्रधानमन्त्री मोदीलाई स्वागत जनाउन तयार बसेका छन्।
हिन्दुस्थान समाचार / बिशाल