डेपुटी चेयरम्यानको बाहुलीद्वारा धोतरिया चियाबारीको बीच, मुन्सी गाउँमा सार्वजनिक भवनको उद्घाटन
डेपुटी चेयरम्यानको बाहुलीद्वारा धोतरिया चियाबारीको बीच, मुन्सी गाउँमा सार्वजनिक भवनको उद्घाटन


सोनादा, 29 मई (हि.स.)। रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको बीच, मुन्सी गाउँमा 'मित्रगण सेवक युवा समाज' को सार्वजनिक भवनको आज उद्घाटन गरिएको छ। उक्त सार्वजनिक भवनको उद्घाटन जीटीएको डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेश चौहानको बाहुलीबाट गरियो।

ग्राम पञ्चायतदेखि लिएर पञ्चायत समितिका निर्वाचित सदस्य-सदस्याहरू र स्थानीय ग्रामवासीको उपस्थितिमा उक्त सार्वजनिक भवनको उद्घाटन गरियो। यस अवसरमा विशिष्ट अतिथिको रुपमा विभागीय अधिकारीहरू, पञ्चायत समिति सदस्य जीवन प्रधान, चन्द्र तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए।

उक्त सार्वजनिक भवनको उद्घाटन गरिएपछि रङ्गबुल धोतरिया रङ्गमुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको मुन्सी गाउँ, बीच गाउँको मित्रगण सेवक समाजलाई हस्तान्तरण गरिएको छ। उक्त सार्वजनिक भवनको उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै धोत्ररिया चियाबारीको बीच गाउँ, मुन्सी गाउँको मित्रगण सेवक समाजका सभापति जीवन छेत्रीले गाउँमा धेरै वर्षपछि मित्रगण सेवक युवा समाजको सार्वजनिक भवन निर्माण भएर उद्घाटन गरिएको छ भन्दै खुशी व्यक्त गरे।

उनले लामो समयदेखि रहेको सार्वजनिक भवनको समस्या आज आएर क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको पहलमा र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको सहयोगमा समाधान भएको बताए। उनले यस सार्वजनिक भवनको लागि क्षेत्रीय सभासद चौहान र जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande