कुचबिहार, 30 मई (नि.सं)। पश्चिम बंगालको कुचबिहार जिल्ला अन्तर्गत दिनहाटाबाट पुलिसले 28 जना बंगलादेशी अनुप्रवेशकारीहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने बंगलादेशीहरूमा 11 जना पुरूष, 8 जना महिला अनि 9 जना बाल-बालिकाहरू सामेल छन्। सबै बंगलादेशीहरूलाई गए बिहीवार राती दिनहाटा स्टेशन संलग्न क्षेत्रबाट पक्राउ गरिएको हो।
पुलिस सूत्र अनुसार यिनीहरू दिल्ली, हरियाणा एवं उत्तर प्रदेशका विभिन्न ईँटा भट्टीहरूमा काम गर्दै आइरहेका थिए। पुलिसले अवैध अनुप्रवेशकारीहरूको खोजीमा अभियान संचालन गर्नसाथ यिनीहरू सबै आफ्नो देश बंगलादेश फर्किने दाउमा थिए। त्यसपछि यिनीहरू बिहारको गयामा आएर एउटा ईँटा भट्टीमा काम गर्न थाले, तर यहाँ पनि पुलिसको सक्रियता बढ़्न थालेपछि यिनीहरू कुचबिहार संलग्न काँड़ेदार तारको सीमा क्षेत्र भएर आफ्नो देश फर्किन लागेका थिए। यस अगावै दिनहाटा स्टेशन संलग्न क्षेत्रबाट गए अबेर राती अभियान संचालन गरी यी बंगलादेशीहरूलाई पक्राउ गरियो। दिनहाटा थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा