गोरामुमोको तराई समष्टि कमिटी गठन
गोरामुमोको तराई समष्टि कमिटी गठन


मिरिक, 30 मई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) द्वारा संगठन विस्तारको क्रममा आज उत्तर च्याँगा साई नगरस्थित सामुदायिक भवनमा एक महत्वपूर्ण सभा सम्पन्न भयो, जसमा गोरामुमो तराई समष्टि कमिटी गठन गरिएको छ। सभाको अध्यक्षता नवनियुक्त कन्भेनर कर्ण प्रधानले गरेका थिए।

सभामा तराईका विभिन्न शाखाहरूलाई समेट्दै नयाँ समष्टि कमिटी गठन गरिएको हो। स्मरणीय छ, केही महिनाअघि गोरामुमोका केन्द्रिय अध्यक्ष मन घिसिङले सौरेनी–पानिघट्टा समष्टिलाई विभाजन गरी सौरेनी र तराई नामक छुट्टाछुट्टै समष्टिहरूको गठन गर्न निर्देशन दिएका थिए, जसको परिपालना स्वरूप आजको सभा सम्पन्न भएको हो।

समष्टि गठन प्रक्रियामा गोरामुमो केन्द्रिय समिति सेक्रेटरी जनरल ऋषि थापा, मिरिक ब्रान्च अध्यक्ष महेन्द्र खडका, मिरिक समष्टि अध्यक्ष प्रसित राई, ब्रान्च कार्यालय सचिव सहदेव रनपहेंली, मिरिक ब्लक अध्यक्ष तथा भूतपूर्व सैनिक संगठनका केन्द्रिय उपाध्यक्ष समिर तामाङ लगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सभाले सर्वसम्मतिले पदाधिकारीहरूको चयन गरेको छ जसमा अध्यक्ष कर्ण प्रधान, उपाध्यक्षद्वय शरण प्रधान र जीवन ताँती, सचिव दिपेन लोहार, सह–सचिवद्वय सन्तोष बम्जन र भुवानी प्रसाद दुलाल, कोषाध्यक्ष अमर लामा चयन भएका छन्। यसै गरी प्रमुख सल्लाहकारका रूपमा बाबुलाल जिम्बा (अमिताभ गुरु), अनिल राणामगर, सुरेश खनाल, रामु पराजुली, सुशन सुब्बा र जतन शर्मा चयन भएका छन्। कार्यकारिणी समितिमा २० जना सदस्यहरू पनि चयन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव ऋषि थापा र ब्रान्च अध्यक्ष महेन्द्र खड्काले नव गठित समितिलाई खदामाला अर्पण गर्दै शुभकामना प्रदान गरे। सभामा संगठनलाई अझ सुदृढ बनाउँदै जनअपेक्षाहरू पूरा गर्न यो नयाँ समष्टिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

सभामा तराईका सम्पूर्ण शाखाहरूबाट प्रतिनिधित्वसहित उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रम पश्चात तराई समष्टि सचिव दिपेन लोहारद्वारा जारी विज्ञप्तिमा गोरामुमो तराई समष्टिको औपचारिक गठनलाई संगठन विस्तारको महत्वपूर्ण कदम भन्दै सफलताको शुभेच्छा व्यक्त गरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande