गान्तोक, 30 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगन जिल्लाको छुबोम्बू नजिक बिहिवार राति भएको एउटा वाहन दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। लाचेनदेखि लाचुङ आउने क्रममा पर्यटकहरूको वाहन टिस्टा नदीमा झरेको छ।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गर्दै यस कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले मंगनका पुलिस अधीक्षकको देखरेखमा पुलिस, आईटीबीपी, अग्निशमन, चिकित्सा टोली र स्थानीय मानिसहरूको सहकार्यमा उद्धार कार्य तत्काल शुरूवात गरिएको जानकारी गराएका छन्। दुर्घटना स्थलबाट दुई जना उद्धार गरिएको र उनीहरूले चिकित्सा उपचार प्राप्त गरिरहेको उनले बताएका छन्।
मुख्यमन्त्रीले एनडीआरएफ टीमको सहयोगमा बेपत्ता बनेका अन्य यात्रीहरूको खोज कार्य जारी रहेको पनि जानकारी गराएका छन्। उनले पीडितहरू र उनीहरूका परिवारलाई हर सम्भव सहायता प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र जारी उद्धार र राहत प्रयासका लागि आवश्यक पर्ने सबै स्रोतहरू परिचालन गरिएको पनि अवगत गराएका छन्।
मुख्यमन्त्रीले यस दु:खको समयमा एकजुट बन्न र प्रभावितहरूलाई समर्थन प्रदान गर्न आह्वान पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल