गान्तोक, 30 मई (हि.स.)। उत्तर सिक्किममा बिहिवार अबेर राति भएको वाहन दुर्घटनापछि बेपत्ता बनेका यात्रीहरूको अझै पनि पत्ता चलेको छैन। हिजो राति वाहन दुर्घटना भएदेखि लगातार खोज एवं उद्धार कार्य चलिरहेको छ। आज पनि दिनभरि खोज एवं उद्धार कार्य चलाइयो। हिजो राति दुर्घटना स्थलबाट दुई जनालाई उद्धार गरिएको थियो भने नौ जना अझै पनि बेपत्ता छन्।
चुङथाङ पुलिस अनुसार, बिहिवार अबेर राति लगभग आठ बजी लाचेन-चुङथाङ मार्ग अन्तर्गत छुबाम्बू र मुन्शिथाङबीच एउटा ट्याक्सी वाहन सड़कदेखि तल टिस्टा नदीमा झऱ्यो। वाहनमा ट्याक्सी चालकसहित 11 जना यात्रा गरिरहेका थिए। यात्रीहरू सबै भारतका विभिन्न राज्यहरूबाट सिक्किम घुम्न आएका पर्यटकहरू थिए।
दुर्घटनाको बारेमा सूचना पाउनसाथ चुङथाङ पुलिस लगायत उद्धार टोली दुर्घटना स्थल पुगेर खोज एवं उद्धार कार्य शुरू गऱ्यो। यस क्रममा दुई जना यात्रीलाई दुर्घटना स्थलबाट गम्भीर अवस्थामा उद्धार गरियो। घाइतेहरूमा ओडिशाको जजपुर निवासी साइराज जेना (17) र स्वयम् सुप्रतिम नायक (17) सामेल छन्। घाइतेहरूको चुङथाङ पीएचसीमा प्राथमिक उपचारपछि राजधानीको एसटीएनएम अस्पताल रेफर गरियो।
प्रारम्भिक जॉंचमा पर्यटकहरूलाई लाचेनबाट लाचुङ लिएर जाने क्रममा वाहन दुर्घटना भएको थाहा लागेको छ। वाहन पासाङ डी. शेर्पाले चलाइरहेका थिए। उनी सिङघिक, मंगन निवासी थिए। वाहन सड़कदेखि लगभग 1000 फुट तल झरेको छ।
बेपत्ता बनेका अन्य पर्यटकहरूमा ओडिशाको जजपुर निवासी इत्शिरी जेना (46), अजित कुमार नायक (45), सुनिता नायक (42) शाहिल जेना (21), उत्तर प्रदेश निवासी अंकिता सिंह (26) र कौशलेन्द्र प्रताप सिंह (32) तथा त्रिपुरा निवासी स्वपनिल देव (26) र देवज्योति जोय देव (26) सामेल छन्।
चुङथाङ पुलिस, आईटीबीपी, सेना, एनडीआरएफ र स्थानीय मानिसहरू आज दिनभरि खोज एवं उद्धार कार्यमा जुटेका थिए। यस क्रममा नदीबाट दुर्घटनाग्रस्त वाहन उद्धार गरिएको छ। वाहन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
मंगन जिल्लाका जिल्लापाल अनन्त जैन, पुलिस अधीक्षक सोनाम डी. भोटिया, जिल्ला आपदा प्रबन्धन प्राधिकरणका डीपीओ कर्म दोर्जी वाजीलिङ्गपा पनि आज दुर्घटना स्थल पुगेर खोज एवं उद्धार कार्यको बारेमा जानकारी लिएका थिए। दुर्घटना स्थलमा व्यापक खोज एवं उद्धार कार्य जारी रहेको छ।
हिन्दुस्थान समाचार / बिशाल