मंगन, 31 मई (हि.स.)। शुक्रवार राति परेको भारी वर्षापछि लाचेन मार्ग पूर्ण बाधित बनेको छ। यसरी क्षेत्रमा बादल फाटेपछि भएको भारी वर्षाले टिस्टा नदीको जलस्तर पनि अत्यधिक बढेको छ। लाचुङ मार्ग पनि गए रातिदेखि बन्द थियो भने आज सॉंझसम्म यातायात सुचारू बन्न सक्यो। पेगङ्ग (चुङथाङ) देखि सिपग्येर, साङ्कालङ हुॅंदै फिदाङ पुग्ने बाटो पनि विभिन्न ठाउॅंमा पैह्रो झरेकाले बन्द भएको मंगन जिल्लापाल कार्यालयले बताएको छ।
आज एनडीआरएफ लगायत एसडीआरएफको अतिरिक्त नयॉं ब्याचले वाहन दुर्घटना स्थलमा खोज एवं उद्धार अभियान शुरू गऱ्यो, तर नदीको जलस्तर अत्यधिक मात्रामा बढेकाले अभियानलाई अगाडि बढाउन सकिएन। बढ्दो प्रतिमूल मौसमका कारण उद्धार कार्य बन्द गर्नु परेको बताइएको छ।
मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले व्यक्तिगत रूपमा खोज एवं उद्धार कार्य र सडक मार्गहरूको निगरानी गरिरहेका छन्। पुलिस अधीक्षक सोनाम डी. भोटियाले दुर्घटना स्थल छेउबाट खोज एवं उद्धार टोलीले छहजनाको मोबाइल फोन र चार जनाको परिचयपत्रहरू बरामद गरिएको जानकारी गराएका छन्।
दुर्घटनामा बेपत्ता बनेका 11 जना मध्ये 2 जनाको हाल राजधानीको एसटीएनएम अस्पतालमा उपचार चलिरहेको छ। रहल 9 जनाको खोज कार्य चलिरहेको छ। बेपत्ता बनेका पर्यटकहरू 4 जना ओडिशा, 2 जना त्रिपुरा र 2 जना उत्तर प्रदेशका रहेका छन्। वाहन चालक उत्तर सिक्किमको सिङघिक निवासी पासाङ डी. शेर्पा रहेको बताइएको छ।
पुलिस अधीक्षक भोटिया अनुसार, अहिले लाचेनमा 115 जना पर्यटकहरू छन् भने लाचुङमा 1350 पर्यटकहरू छन्। भारी वर्षाका कारण विभिन्न ठाउॅंहरूमा गएको पैह्रोपछि वाहनहरूको आवागमन पूर्ण रूपमा बन्द भएको छ भने पर्यटकहरूलाई आ-आफ्नो होटलमा बस्न सुझाउ दिइएको छ।
जिल्लापाल जैनले मंगन जिल्लाभरि निरन्तर पानी परिरहेकाले हिजो दिउॅंसोदेखि बिजुली आपूर्ति ठप बनेको थियो भने आज दिउॅंसो बिजुली आपूर्ति बहाल भएको बताए। सम्पूर्ण चुङथाङ क्षेत्रमा पेयजल आपूर्ति बाधित बनेको छ भने भोलिसम्ममा आपूर्ति सुचारू बन्ने उनले आश्वासन दिएका छन्। उनले हिजोदेखि मोबाइल नेटवर्क पनि बन्द थियो भने आज दिउॅंसोदेखि नेटवर्क पुनर्स्थापित भएको जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / बिशाल