गानतोक, 31 मई (हि.स.)। एसडीएफ पार्टीको एक प्रतिनिधि टोलीले आज पार्टी अध्यक्ष पवन चामलिङको अगुवाइमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गऱ्यो। भेटघाटको क्रममा सिक्किमको विकास, प्रगति र कानुनी राज कायम गरेर सिक्किमलाई कसरी अझ विकसित बनाउन सकिन्छ भन्ने विषयमा कुराकानी भएको एसडीएफले प्रेस विज्ञप्तिमा बताएको छ।
एसडीएफ प्रतिनिधि टोलीले राज्यपालकै कार्यकालमा सिक्किम राज्यले 50औं प्रजातान्त्रिक राज्यको रूपमा स्वर्ण जयन्ती मनाएकोमा हार्दिक बधाई टक्र्यायो। राज्यपाल महोदयले पनि अत्यन्तै सौहार्दपूर्ण ढंगले प्रतिनिधि टोलीलाई स्वागत जनाएको बताइएको छ।
विज्ञप्ति अनुसार, सिक्किमले विगतमा गरेका उपलब्धि र भविष्यको मार्गचित्र र योजनामाथि व्यापक चर्चा भयो। विशेष गरी नारीलाई नोकरीमा 33% र पञ्चायतमा 50% आरक्षण भएको, सिक्किम पूर्ण जैविक राज्य भएको, बुनियादी सुविधा सम्पन्न राज्यको रूपमा रुपान्तरण भएको, पर्यटनमा युगान्तकारी विकास भएको, औद्योगिकीकरण, धार्मिक पर्यटनजस्तै चारधाम, बुद्धपार्क, साम्ड्रुप्चे, भालेढुङ्गा, रोपवे, स्काइवाक आदि विषयमा व्यापक कुराकानी भयो। तर, रोड कनेक्टिभिटी, जस्तै एनएच 10 लगायत ग्रामीण क्षेत्रका सडकहरूको जीर्ण अवस्थाप्रति भने राज्यपालले दु:खेसो प्रकट गरेको बताइएको छ।
राज्यपालले सिक्किमको राज्यपालको रूपमा कार्य सम्हालेपछि एनएच 10 एनएचआईडीसीएललाई जिम्मा लगाउने काम भएको अवगत गराए। साथै तेस्रो वैकल्पिक राजमार्ग निर्माणको दिशामा दूरगामी योजना रहेको पनि जानकारी गराए। पाकिम हवाई अड्डालाई बढोत्तरी गरेर ठूला बोइङ हवाइजहाज उडान गर्ने लक्ष्य रहेको बताउॅंदै यस दिशामा कार्य चलिरहेको पनि बताए।
राज्यका राजनीतिक विषयमा बढ्दो ड्रग माफिया र ड्रग्सखोरी, महिलामाथिको बढ्दो हिंसा, आत्महत्या, राजनीतिक आतङ्कवाद आदि विषयहरूमा पनि व्यापक रूपमा चर्चा भएको एसडीएफले बताएको छ। राज्यपालले यी विषयहरूलाई गम्भीरतापूर्वक लिएर त्यसमाथि विचार गर्ने आश्वासन दिएको विज्ञप्तिमा उल्लेख छ। यस शिष्टाचार भेटघाटले सिक्किमको समग्र समृद्धि र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धता अभिव्यक्त गरेको एसडीएफ पार्टीले विश्वास व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल