गान्तोक, 01 जून (हि.स.)। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) का अध्यक्ष जेकब खालिङ र महासचिव सुकान्त दास हिजो नयॉं दिल्लीमा आयोजित ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआई) को वार्षिक आम सभामा सहभागी बने। ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाका अध्यक्ष एवं असमका मुख्यमन्त्री डा. हिमन्त बस्व सरमाको अध्यक्षतामा बसेको बैठकमा सबै स्तरमा खेलकुदको विकास र संवर्धनमाथि व्यापक छलफल भएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका अध्यक्ष खालिङ र महासचिव दास उत्तरपूर्वी क्षेत्रमा खेलकुदको संवर्धनका लागि आफ्नो सुझाउहरू राखे। बैठकको क्रममा धेरै प्रमुख विकास परियोजनाहरू र प्रतियोगिताहरूको घोषणा गरियो, जसमा सिक्किम सहित उत्तरपूर्वी राज्यहरूमा थप ब्याडमिन्टन कार्यक्रमहरू ल्याउन विशेष जोड दिइएको थियो। यी पहलहरूको उद्देश्य स्थानीय प्रतिभालाई पोषण गर्नु, पूर्वाधार बढाउनु र ब्याडमिन्टनलाई यस क्षेत्रका युवाहरूमाझ लोकप्रिय खेलको रूपमा प्रवर्द्धन गर्नु रहेको थियो।
ब्याडमिन्टर एसोसिएशन अफ् सिक्किम यी विकासहरूप्रति उत्साहित र यी कार्यक्रमहरूको सफल कार्यान्वयन सुनिश्चित गर्न राष्ट्रिय निकायहरूसँग नजिकबाट काम गर्न प्रतिबद्ध रहेको बताइएको छ। संघले यी प्रयासहरूले युवा खेलाडीहरूलाई प्रेरित गर्नेछन् भने सिक्किम र उत्तरपूर्वी राज्यहरूमा जीवन्त ब्याडमिन्टन संस्कृतिलाई बढावा मिल्ने विश्वास व्यक्त गरेको छ।
संघले भारतीय ब्याडमिन्टन संघलाई उनीहरूको निरन्तर सहयोग र प्रोत्साहनको लागि कृतज्ञता व्यक्त गरेको छ। राज्यमा ब्याडमिन्टनको विकासमा योगदान पुर्याउने आगामी प्रतियोगिताहरू र विकास कार्यक्रमहरू आयोजना गर्न तत्पर रहेको संघले बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल