टाइम क्याप्सुल 2025: भविष्यको लागि सन्देश छोडौं
टाइम क्याप्सुल 2025: भविष्यको लागि सन्देश छोडौं


गान्तोक, 16 जून (हि.स.)। राज्य स्थापनाको पाँच दशकको उपलक्ष्यमा टाइम क्याप्सुल 2025 राज्य सूचना तथा जनसम्पर्क विभागको एक ऐतिहासिक परियोजना हो। यसको उद्देश्य सिक्किमको वर्तमान सार- सांस्कृतिक, सामाजिक र विकासात्मक- भावी पुस्ताका लागि संरक्षण गर्नु हो, जसलाई 16 मई, 2075 मा राज्य स्थापनाको शताब्दी मनाउने क्रममा खोलिनेछ।

यो पहल केवल एक टाइम क्याप्सुलभन्दा अधिक हो, जसले भावी पुस्ताहरूका लागि सिक्किमको यात्रा र विरासतलाई दर्साउॅंछ। यो राज्यको गौरवको प्रमाण हो, जसले भविष्यका नेताहरू, समुदायहरू र बालबालिकाहरूलाई कदर गर्न र प्रेरणा लिनको लागि स्थायी विरासत छोड्ने छ।

टाइम क्याप्सुल 2025 मा कलाकृतिहरूको विविध संग्रह हुनेछ, जसमा सिक्किमका मुख्यमन्त्री, राज्यपाल र विद्यार्थीहरूबाट सिक्किमको भविष्यको कल्पना गर्ने नोटहरू समावेश हुनेछन्। सिक्किमको 50औं राज्य दिवसको महत्वपूर्ण अवसरमा 16 मई, 2025 मा पाल्जोर स्टेडियममा मुख्यमन्त्री प्रेमसिंह तामाङ र राज्यपाल ओमप्रकाश माथुरले टाइम क्याप्सुल 2025 मा योगदान दिने प्रक्रिया शुरु गरे।

मूल टाइम क्याप्सुल दफन स्थल गान्तोकको टाशीलिङ सचिवालयमा हुनेछ, जुन युगौंदेखि शासन र प्रगतिको शक्तिशाली प्रतीक बनेको छ। यसरी नै एमजी मार्गमा एक सार्वजनिक प्रदर्शनी राखिनेछ, जसमा पारदर्शी ग्लासमा राखिएको प्रतिकृति टाइम क्याप्सुल प्रदर्शन गरिनेछ, जसले आगन्तुकहरूलाई यसको सामग्री हेर्न र विगत र भविष्य बीचको प्रतीकात्मकता बुझ्न अवसर प्रदान गर्नेछ।

टाइम क्याप्सुल 2025 सरकारी अधिकारीहरू, इतिहासकारहरू र समुदायका नेताहरू सम्मिलित बहु-अनुशासनात्मक समितिद्वारा तयार गरिएको हो। स्कूल र सामुदायिक आउटरिच कार्यक्रमहरू मार्फत जनसहभागितालाई प्रोत्साहित गरिनेछ।

टाइम क्याप्सुललाई दीर्घकालीन संरक्षण सुनिश्चित गर्न जलवायु-प्रतिरोध र वायुरोधी भण्डारणको साथ डिजाइन गरिएको छ। यो 32 किलोग्राम तौल भएको 316एल सर्जिकल-ग्रेड स्टेनलेस स्टीलबाट बनाइएको हो, र 50 वर्षभन्दा बढी समयसम्म सामग्रीलाई ह्रास बिना संरक्षण गर्न तयार गरिएको छ।

राज्य सूचना तथा जनसम्पर्क विभागको यो पहल भविष्यको लागि सन्देश छोडौं- पत्र/फोटो/विचार/सांस्कृतिक सम्झनाहरू 30 जून, 2025 मा समाप्त हुनेछ। प्रवृष्टिहरू 50yearsofstatehood@gmail.com मा ईमेल गर्न सकिने बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande