पूर्व फुटबल खेलाडी पेम्बा छिरिङ भोटियाको निधन
पूर्व फुटबल खेलाडी पेम्बा छिरिङ भोटियाको निधन


सोनादा, 23 जून (हि.स.)। इतिहासले एक युगमा केवल एक युगपुरुष जन्माउँछ, जसले आफ्नो कालको इतिहास रचेर जान्छ। दार्जिलिङले पनि यस्ता प्रतिभा तथा युग पुरुष समय काल अनुसार जन्मायो, जो इतिहासकै गर्भमा विलिन भएर गएका छन्।

1970 को दशकमा दार्जिलिङ फुटबलको संसारमा आफ्नो एकल दबदबा बनाइराख्ने महान् खेलाडी तथा सोनादा डीबी रोड निवासी पेम्बा छिरिङ भोटियाको निधन भएको छ। उनको निधन 75 वर्षको उमेरमा आइतवार उपचारको क्रममा उत्तर बंगाल मेडिकल कलेजमा भयो। उनको निधनले दार्जिलिङ पहाडको फुटबल इतिहासको एउटा युग समाप्त हुनका साथै फुटबल प्रेमीहरूमा गहिरो शोकको लहर छाएको छ।

दिवङ्गत पेम्बा छिरिङ भोटिया सन् 1974 मा हिमालयन स्पोर्टिङ क्लबका मुख्य खेलाडी थिए। तीब्र गति, बलियो शारीरिक बनावट र उत्कृष्ट स्ट्राइकिङ क्षमताका धनी पेम्बा छिरिङले 70 को दशकमा दार्जिलिङ जिल्लामा आयोजित लगभग सबै फुटबल खेलहरूमा उत्कृष्ट प्रदर्शन साथै जीत हासिल गरेर गौरवमय इतिहास नै रचेका थिए।

खरसाङ गोथल्स मेमोरियल स्कूलका पूर्व विद्यार्थी पेम्बा एक बहुप्रतिभाशाली खेलाडी थिए। तिनी कुशल फुटबल खेलाडी हुनका साथै एथलेटिक्स, क्रिकेट र हकीमा समेत सशक्त खेलाडी थिए। सन् 1973 मा उनले सन्त जोसेफ कलेजको फुटबल टिमबाट खेल्दा उनको प्रतिभा अझ उजागर भएको थियो।

सन् 1975 मा उनले ओलम्पियन चन्दनसिंह रावतको मार्गदर्शनमा फर्स्ट ब्रिगेड अफ् गोर्खाज गोल्ड कपमा दार्जिलिङ जिल्ला फुटबल टोलीका प्रमुख स्ट्राइकरका रूपमा खेलेका थिए। कोलकाता लिगमा खेल्ने धेरै अवसरहरू आउँदा पनि उनले दार्जिलिङ र चिया उद्योगमा आफ्नो भविष्य रोजे र रङमुक चिया बगानमा सहायक प्रबन्धकको रूपमा आफ्नो सेवा प्रदान गरे।

1974 सालतिर पेम्बा छिरिङका खेल हेर्नेहरू जो आज पनि छन्, उनीहरू दार्जिलिङले उनी जस्तो स्ट्राइकर अझै जन्माएको छैन। भनी बताउँछन्। उक्त वर्षको अल-ओरेञ्ज हिमालयन स्पोर्टिङ टिम, जुन विश्व फुटबलको 1974 को डच टिमबाट प्रेरित थियो, त्यसमा पेम्बा छिरिङलाई हल्याण्डका जोहान क्रोएफसँग तुलना गरिन्थ्यो।

यी महान् खेलाडी, कुशल चियाबारी प्रशासक, बहुप्रतिभाका धनी अनि कैयौं खेलप्रेमीहरूका प्रेरणा पेम्बा छिरिङको अन्तिम संस्कार बुधवार पूर्वान्ह 11 बजी घुममा गरिने पारिवारिक सूत्रबाट थाहा लागेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande