- स्थानीय समाजद्वारा सामूहिक हस्ताक्षरका साथ विभिन्न निकायमा ज्ञापन
खरसाङ, 28 जून (हि.स.)। बागौडा प्राथमिक स्वास्थ्य केन्द्रको डाक्टरलाई स्थानान्तरण गरिएको विषयलाई लिएर स्थानीय मानिसहरुले असन्तोष प्रकट गर्दै विरोध जनाएका छन्। खरसाङ महकुमा अन्तर्गत टुंग सन्त मेरिज समष्टिकाे बागौडा प्राथमिक स्वास्थ्य केन्द्रमा विगत 2 वर्षदेखि कार्यरत् डाक्टर मेहताभ आलमलाई घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा पनि स्थानान्तरण गरिएकोमा स्थानीय मानिसहरुले विरोध जनाएका छन्।
दागोपाप समयमा नै निर्माण गरिएको यस बागौडा प्राथमिक स्वास्थ्य केन्द्रमा विगत 2 वर्षदेखि कार्यरत् एकजना डाक्टरलाई तीनधारे महानदी समष्टिको घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थानान्तरणको विरोध जनाउँदै बागौडा स्वास्तिक समाजको तर्फबाट सामूहिक हस्ताक्षरका साथमा क्षेत्रीय सभासद नुरी शेर्पा, खरसाङ खण्ड स्वास्थ्य केन्द्र सुकनामा ज्ञापन दिएको जानकारी प्राप्त भएको छ।
बागौडा प्राथमिक स्वास्थ्य केन्द्रभित्र 20 देखि 25 गाउँहरु रहेको र ती गाउँहरुका लागि बागौडा प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर हुन नितान्त आवश्यक रहेको बताउँदै यहाँबाट डाक्टरलाई स्थानान्तरण गर्न अघि नयाँ डाक्टर नियुक्त गर्नुपर्ने, नत्र यहाँका डाक्टरलाई कतै पनि स्थानान्तरण गर्न नहुने स्थानीयहरुले बताएका छन्। यस बागौडा प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत अप्पर, मध्य र लोवर मामरिङ, अप्पर र लोवर तुरुक, एम वान ब्लक, कोइला गोदाम, पोखरी टार, चिमनी, देवराली, दिलराम, सिंगेल, बागौडा लगायत 20 देखि 25 वटा गाउँहरु पर्ने र यी सबै गाउँहरु यसै बागौडा प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहन्छन्।
यस प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका एकैजना डाक्टरलाई पनि कसैले चाल नपाई घैयाबारी अस्पतालमा स्थानान्तरण गरेकोमा स्थानीयहरुले विरोध जनाएका छन्। स्थानीय बागौडा स्वास्तिक समाजको तर्फबाट डाक्टरको स्थानान्तरण रोकिदिन अथवा नयाँ डाक्टर नियुक्त गरिदिन माग गर्दै क्षेत्रीय सभासद नुरी शेर्पा र खरसाङ खण्ड स्वास्थ्य अधिकारी सुकनालाई ज्ञापन पत्र बुझाइएको छ।
यहाँका डाक्टर सप्ताहमा तीन—तीन दिन गरेर दुवैतिर आइरहेकाले बागौडा क्षेत्रको समाजका प्रतिनिधिहरु र गाउँलेहरूले यहाँ डाक्टर आपतकालीन अवस्थामा सदैव उपस्थित हुन पर्ने माग गरेका छन्। यहाँको डाक्टर स्थानान्तरण गरिएको विषयमा विरोध जनाउँदै बागौडा स्वास्तिक समाजको सभापति कुमार गुरुङ, सचिव प्रताप थापा लगायत समाजका पदाधिकारीहरु र स्थानीयहरुले भेला भएर विरोध जनाएका छन्।
हिन्दुस्थान समाचार / हनोक