खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु
खरसाङमा दुई दिवसीय क्यारम प्रतियोगिता शुरु


खरसाङ, 28 जून (हि.स.)। खरसाङ महकुमा खेलकूद संघ अनि स्याङ्देन परिवारको संयुक्त आयोजना स्व धर्मे तामाङ, स्वा राजु तामाङ अनि शोभा तामाङ थापा स्मृति दुई दिवसीय क्यारम प्रतियोगिता आजदेखि प्रारम्भ भएको छ। यी सबै खेलहरू खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भइरहेको छ। उक्त प्रतियोगिता दुई वर्गहरु एकल अनि युगल अन्तर्गत भइरहेको छ। एकल वर्गमा 28 जना प्रतियोगीहरु र युगलमा 9 जोडी प्रतियोगीहरूले भाग लिइरहेका छन्।

प्रतियोगिता शुरु हुन अघि दिवंगत आत्माको तस्वीरमा स्व धर्मे तामाङकी पत्नी काइली तामाङ, खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ मह‌कुमा खेलकुद संघका सभापति मोहन योञ्जन, प्रमुख संरक्षक एसबी सुनवार, धर्मे तामाङका जेठा छोरा फूर्बा तामाङले खदा, धूप दीप प्रज्वलन गरेका थिए। त्यसपछि, सभासद श्याम शेर्पाले क्यारम प्रतियोगिताको विधिवत उद्घाटन भएको घोषणा गरे।

आज प्रतियोगिताको प्रथम दिन क्वार्टर फाइनलसम्मका खेलहरु खेलाइएको थियो।‌ एकलमा आकाशवाणी खरसाङको बिपन आले, ललित शिवा अनि नकुल छेत्री र निखिल रावतले सेमिफाइनलमा स्थान बनाए भने युगल वर्गमा प्रभास अनि पार्टनरको भिडन्त बिपन अनि पार्टनरसित हुनेछ।‌ त्यसरी नै दोस्रो सेमिफाइनलमा प्रमीर अनि पार्टनरको भिडन्त याङ्गदन अनि पार्टनरसित हुनेछ।

यी सबै सेमिफाइनल खेलहरू अनि फाइनल खेल 29 जून, 2025 मा हुने खरसाङ महकुमा खेलकूद संघका उप सभापति फूर्बा घिसिङ्गले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande