खरसाङ, 29 जून (हि.स.)। खरसाङ महकुमा खेलकूद संघको आयोजनामा आयोजित स्व धर्मे तामाङ, स्व राजु तामाङ र शोभा तामाङ थापा स्मृति क्यारम प्रतियोगिताको उपाधि एकल वर्गमा ललित सेवा र युगल वर्गमा ललित सेवा र प्रमीर राईले जितेका छन्।
खरसाङ महकुमा खेलकूद संघको आयोजना तथा स्याङ्देन परिवारको प्रायोजनमा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा खेलाइएको दुई दिवसीय क्यारम प्रतियोगिताको सेमिफाइनल र फाइनल आइतवार सम्पन्न भयो। पहिलो सेमिफाइनल खेलमा प्रभास थापा र विकास छेत्रीको जोडीलाई विपन आले र अभिषेक गोयलको जोडीले जितेर फाइनलमा प्रवेश गरेका थिए।
दोस्रो सेमिफाइनलमा ललित सेवा र प्रमीर राईको जोडीले जितेर फाइनलमा प्रवेश गरेको थियो। फाइनल खेलमा विपन आले र अभिषेक गोयलको जोडीलाई ललित सेवा र प्रमीर राईको जोडीले 20-23 को अन्तरले जितेर उपाधि जित्यो।
त्यसरी नै एकल वर्गमा ललित सेवाले गत वर्षको च्याम्पियन नकुल छेत्रीलाई 16-9 को अन्तरले पराजित गरेर उपाधि जितेका छन्। उक्त क्यारम प्रतियोगिताको युगल वर्गका विजेताहरूलाई स्व धर्मे तामाङ्की पत्नी काँइली तामाङ र परिवारका सदस्यहरु, खरसाङ महकुमा खेलकूद संघका सभापति मोहन योञ्जन लगायत अन्यहरूको बाहुलीबाट ट्रफी प्रदान गरियो।
ट्रफीको साथमा 6 हजार र उप विजेतालाई ट्रफीको साथमा 3 हजार प्रदान गरियो। एकल वर्गका विजेतालाई ट्रफीको साथमा 4 हजार र उप विजेतालाई ट्रफीको साथमा 2 हजार रुपियाँ प्रदान गरियो।
यस अवसरमा खरसाङ महकुमा खेलकूद संघका सभापति मोहन योञ्जन, संरक्षक टीटी लामा, खरसाङ नगरपालिकाका भाइस चेयरम्यान सुवास प्रधान, खरसाङ नगरपालिकाका पूर्व चेयरम्यान समीरदिप ब्लोन, खरसाङ ट्राफिक पुलिसका प्रभारी बीरेन्द्र छेत्री, खरसाङ ब्याटमिन्टन एसोसिएशनका सभापति प्रेमेन्द्र गुरूङ, बडी बिल्डिङमा अन्तरराष्ट्रिय जज सञ्जय छेत्री, राज्य स्तरीय जज अजय गुरुङ, विद्युत विभागको डिभिजनल म्यानेजर सन्दीप तामाङ, प्रेस क्लब अफ् खरसाङका सभापति एमएल पञ्चम लगायत अन्यहरु अतिथि थिए।
खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले क्यारम प्रतियोगिताको बारेमा बताउॅंदै आगामी 12 र 13 जुलाईमा टेबल टेनिस र 26 र 27 जुलाईमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने जानकारी गराएका छन्।
हिन्दुस्थान समाचार / हनोक