खरसाङ, 29 जून (हि.स.)। खरसाङको नयाँ बजारस्थित स्कूल अफ् गिटार लर्निङको आयोजनामा आज खरसाङमा सङ्गीत विषयमाथि एक सचेतना कार्यक्रम सम्पन्न भयो। खरसाङको वर्द्धमान रोडस्थित स्थानीय एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा भायोलिन वादक देशराज गजमेर उपस्थित रहेका थिए।
कार्यक्रममा सङ्गीत विषयमा नानीहरुलाई सचेतना एवं जानकारी गराउन मुख्य शोधवक्ताको रुपमा आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढीका निर्देशक अभिषेक गहतराज उपस्थित रहेका थिए। कार्यक्रममा अमीरमाया गहतराज, निर्मल कुमार गहतराज लगायत अन्यहरु उपस्थित रहेका थिए।
यस कार्यक्रमलाई स्कूल अफ् गिटार लर्लिङ खरसाङको निर्देशक नर्बु छिरिङ शेर्पाले सञ्चालन गरेका थिए। यस कार्यक्रममा नानीहरु र अभिभावकहरुलाई आन्दन्ते स्कूल अफ् म्युजिक सिलगढीका निर्देशक अभिषेक गहतराजले सङ्गीतका विभिन्न विषयहरुमा चर्चा परिचर्चा गर्दै जानकारीसहित सचेतना गराएका थिए।
यस कार्यक्रममा स्कूल अफ् गिटार लर्निङ स्कूलका नानीहरुले आफ्ना प्रस्तुतिहरु पनि दिए। निर्देशक शेर्पाले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रमका प्रमुख अतिथि भायोलिन वादक देशराज गजमेरले आफ्नो सम्बोधनमा कार्यक्रम एकदम राम्रो भएको बताउॅंदै कलिला हातहरुले राम्रो प्रस्तुति दिएको बताए। उनले पुरानो समयमा अहिलेको जस्तो यसरी सङ्गीत सिक्ने माहोल थिएन भन्दै अहिलेका नानीहरुले सङ्गीत सिक्ने राम्रो अवसर पाइरहेको बताए।
हिन्दुस्थान समाचार / हनोक