नशा तस्करी ऱ्याकेटको भण्डाफोर, 7.9 किलो अफिम सहित चारजना तस्कर पक्राउ
नशा तस्करी ऱ्याकेटको भण्डाफोर, 7.9 किलो अफिम सहित चारजना तस्कर पक्राउ


नयाँ दिल्ली, 8 जून (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चको इन्टर स्टेट सेलले अफिमको अन्तरराज्यीय तस्करीमा लिप्त एक संगठित नशा तस्करी गिरोहको भण्डाफोर गर्दै 7.9 किलोग्राम अफिम जफ्त गरेको छ जसको मूल्य लगभग 50 लाख रुपियाँ रहेको अनुमान लगाइएको छ। पुलिसले उक्त मामिलामा चारजना आरोपीहरूलाई पक्राउ गरेको छ साथै एउटा बाइकलाई जफ्त गरेको छ।

क्राइम ब्राञ्चका डीसीपी आदित्य गौतमले बताए, पुलिस टीमलाई सूचना प्राप्त भएको थियो कि एकजना दुर्व्यसनको शिकार भएको तस्कर मुन्ना लाल आनन्द विहार बसअड्डा नजिक अफिमको ठूलो खेप दिन आइरहेको छ। त्यसपछि इन्स्पेक्टर मनित मलिकको नेतृत्वमा टीम गठन गरियो। अबेर राती 12:10 बजे आरोपी मुन्ना लाललाई ईडीएम मल छेवैबाट पक्राउ गरियो अनि उसको कब्जाबाट 5.324 किलोग्राम अफिम जफ्त गरियो।

मुन्ना लालसित जाँचबुझ गर्दा थाहा लाग्यो, उसले झारखण्डको लातेहार जिल्लाबाट अफिम ल्याएर उत्तर भारतका विभिन्न राज्यहरूमा सप्लाई गर्थ्यो। उसैले बताए अनुसार दुईजना सप्लायर क्रमैले फरिद उद्दीन र अब्दुल रशिम आलमलाई बरेलीको एक होटलबाट पक्राउ गरियो साथै यिनीहरूबाट 1.515 किलो अफिम जफ्त गरियो। यसरी नै पुलिस टीमले मेरठ निवासी करमजीत सिंह सैखोंलाई 966 ग्राम अफिम र तस्करीमा प्रयोग गरिएको बाइक सहित समात्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande