गान्तोक, 08 जून (हि.स.)। सिक्किम तामाङ बौद्ध संघले राज्यका विभिन्न स्थानहरुमा संघको कार्यहरूलाई सुचारु रुपमा बिस्तार गर्न आफ्नो नयाँ ब्लकस्तरीय समितिहरूको गठन कार्य शुरू गरेको छ। यसै क्रममा आज नाम्ची जिल्ला अन्तर्गत कटेङ-बोक्रोङमा नयाँ ब्लकस्तरीय समितिको गठन गरियो।
सिक्किम तामाङ बौद्ध संघका अध्यक्ष विनोद योञ्जनको सभापतित्वमा कटेङस्थित तामाङ समुदायिक भवनमा सम्पन्न भएको उक्त सभामा विशेष कटेङ-बोक्रोङको निम्ति गठित उक्त नयाँ ब्लकस्तरीय समितिमा सोभा तामाङलाई अध्यक्षको रूपमा मनोनित गरियो। यसैगरी, अन्य धेरैजना कार्यकारिणी समितिकाे विभिन्न जिम्मेवारी पदहरूमा चयन गरिएका छन्।
यसरी नै यस क्षेत्रबाट जिल्लास्तरीय समितिमा प्रतिनिधित्व गर्नको निमित्त एमबी लो अनि केबी पाख्रीनलाई सर्वसहमतिद्वारा चयन गरिएको छ। आगामी दिनहरूमा सिक्किम तामाङ बौद्ध संघलाई तृणमूल स्तरदेखि नै मजबुत बनाउन साथै कटेङस्थित तामाङ समुदायिक भवनलाई सठिक ढंगले सञ्चालन गरेर लैजाने दायित्व नयाँ ब्लकस्तरीय समितिलाई सुम्पिएको छ।
उक्त सभामा संघको केन्द्रिय कार्यकारिणी समितिका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल