कोलकाता, 8 जून (हि.स.)। महानगरको उत्तर बन्दर थाना क्षेत्रमा गए शनिवार राति एउटा अचम्भको घटना घट्यो। नशामा धुत एक जना युवकले ड्यूटीमा तैनाथ दुईजना पुलिसकर्मीहरूमाथि ज्यानमारा हमला गऱ्यो। आरोपीको पहिचान सुल्तान नामक युवकको रूपमा भएको छ जसले अचानक एएसआई पार्थ चन्द्र र कन्स्टेबल सुखेन्दु माझीमाथि चक्कुले प्रहार गऱ्यो। दुवै घाइते पुलिसकर्मीहरूको गम्भीर अवस्थामा कोलकाता मेडिकल कलेज एवं अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय सूत्र अनुसार उत्तर बन्दर थाना क्षेत्र नजिकै अवस्थित मदिरा पसल क्षेत्रमा तनाउ अनि असुरक्षाको ठूलो कारण बन्न पुगेको छ। दिनहुँ साँझ पर्नसाथ त्यहाँ जँड़्याहहरूको भीड़ एकत्र हुन्छ। सड़कमा खुल्ला रूपमा मदिरा पिउने, गाली गर्ने, कुटपिट गर्ने जस्ता घटनाहरू आम भएको छ। गए शनिवार राती पनि यस्तै भयो जतिबेला आरोपी सुल्तानले मातेपछि फलामको रड लिएर मानिसहरूलाई धम्काउन थाल्यो। डरले गर्दा स्थानीय मानिसहरूले पुलिसलाई सूचना दिए।
सूचना पाउनसाथ थानाबाट एएसआई पार्थ चन्द्र अनि कन्स्टेबल सुखेन्दु माझी घटनास्थलमा पुगे। पुलिसले हस्तक्षेप गर्नसाथ सुल्तानले चक्कु निकालेर दुवै अधिकारीहरूमाथि जाइ लाग्यो। रगतपच्छे भएर दुवै अधिकारीहरू त्यहीँ ढले। घटनाको जानकारी पाए लगत्तै थानाबाट ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। आरोपीलाई पक्राउ गरी थानामा ल्याइयो जहाँ उसित जाँचबुझ भइरहेको छ।
घटनापछि क्षेत्रमा भय व्याप्त भएको छ। स्थानीयहरूले पुलिसमाथि लापरवाहीको आरोप लगाउँदै भनेका छन्, यस क्षेत्रमा मदिरा पसल भएको कारणले दिन-प्रतिदिन यहाँको वातावरण बिग्रिंदै गइरहेको छ। कैयौं पटक सिकायत गरिसक्दा पनि प्रशासनको पक्षबाट कुनै ठोस कदम उठाइएको छैन। उनीहरूले मदिरा पसललाई बन्द गराउने अनि क्षेत्रमा नियमित रूपमा पुलिसले गस्ती गर्नुपर्ने माग गरेका छन्।
कोलकाता पुलिसका डीसी पोर्ट हरीकृष्ण पाईले घटनाको पुष्टि गर्दै भने, आरोपीलाई पक्राउ गरिएको छ। आरोपी विरूद्ध कड़ा कारबाही गरिनेछ। मामिलाको जाँच गरिँदैछ दोषीलाई कड़ा सजाय दिलाउने चेष्टा गरिनेछ। हाल घाइते पुलिसकर्मीहरूको अवस्था स्थिर रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा