गान्तोक, 13 जुलाई (हि.स.)। एसडीएफ अध्यक्ष पवन चामलिङले 211औं भानु जयन्तीको उपलक्ष्यमा सम्पूर्ण नेपालीभाषी महानुभावप्रति हार्दिक शुभकामना र बधाई व्यक्त गरेका छन्।
एसडीएफ अध्यक्ष चामलिङले आज जारी आफ्नो सन्देशमा भने, आदिकवि भानुभक्त आचार्यको भक्ति र आराधनाबाट सबै नेपालीभाषीहरूको शिक्षा र भाषा-ज्ञानको यात्रा प्रारम्भ हुने गरेको छ। यसकारण कवि भानुभक्त आचार्यप्रति अगाध श्रद्धा र भक्तिभाव नेपालीभाषीको विशेषता र पहिचान बनेको छ। भारतीय नेपालीभाषीमाझ भानुभक्त आचार्य जातीय गौरव हुनुसाथै जातीय एकताका प्रतीक पनि रहिआएका छन्।
उनले यी महान् विभूतिको जन्मजयन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं, र प्रत्येक वर्ष नेपालीहरू बड़ो धुमधामसँग र जोशपूर्वक यस जयन्तीलाई पर्वस्वरूप मनाइरहेको बताएका छन्। उनले नेपालीभाषी समाजको यो साझा गौरवको दिनमा आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धा अर्पण गर्दै सबै भाषा-साहित्यप्रेमी महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल