तीनधारे, 13 जुलाई (हि.स.)। घैयाबारी नेताजी हाई स्कूलमा 211औं भानु जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम स्कूलका प्रधान अध्यापक दिनेस प्रधानको अध्यक्षतमा सम्पन्न गरियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा स्कूल सञ्चालन समितिका सभापति केवल राई, शिक्षा अनि खेलकूद विभागका कर्माध्यक्ष दावा वाङ्दी लामाको विशेष उपस्थिति रहेको थियो।
आदिकवि भानुभक्त आचार्यको तस्वीरमा अतिथिहरु साथै शिक्षक-शिक्षिकाहरुले दिप प्रज्वलन साथै खदा माला लगाई कार्यक्रमको शुरुवात गरे। कार्यक्रममा स्वागत नृत्य नवौँ श्रेणीका छात्रा आकृति दर्जीले गरिन्। यसरी नै नानीहरुले कार्यक्रममा आदि कवि भानुभक्त आचार्यको जीवनी, नृत्य, नाटक मञ्चन, कविता वाचन, भानुभक्तप्रति समर्पित सामूहिक गीत आदि प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई कर्माध्यक्ष दावा वाङ्दी लामाले सम्बोधन गर्दै उपस्थित सम्पूर्णलाई भानु जयन्तीको बधाई दिए। प्रधान अध्यापक दिनेस प्रधानले कार्यक्रमलाई सम्बोधन गर्दै हामीले हाम्रो जातिय लेखक अनि हाम्रो संस्कृति, भाषा र साहित्यलाई कहिले बिर्सिनु हुदैँन भने। उनले आफ्नो भाषालाई सबैले माया गर्नुपर्छ, हाम्रो भाषा, हाम्रो भेषभूषा र हाम्रो साहित्य हाम्रो गौरव अनि पहिचान हो भनी बताए।
हिन्दुस्थान समाचार / हनोक