- हामीले भानुभक्तको जीवनीबाट संघर्षको पाठ सिक्नुपर्छ: प्रा मेघनाथ छेत्री खरसाङ, 13 जुलाई (हि.स.)। महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङ, पश्चिम बंगाल सरकार एवं गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त तत्वावधानमा आज खरसाङमा आदिकवि भानुभक्त आचार्यको 212औं जन्म जयन्ती भव्यरूपमा पालन गरियो। खरसाङमा आयोजित भानु जयन्ती समारोहको पूर्वार्द्धमा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा श्रद्धञ्जलि अर्पण कार्यक्रम सम्पन्न गरियो।
यस अवसरमा सभाध्यक्षको रुपमा गोर्खा जनपुस्तकालयका सभापति रबीनकुमार प्रधान अनि प्रमुख अतिथिको रुपमा सोनादा डिग्री कलेजका प्राध्यापक मेघनाथ छेत्री उपस्थित रहेका। यसरी नै विशिष्ट अतिथिहरूमा खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, सभासद श्याम शेर्पा, महकुमा सूचना अनि सांस्कृतिक विभाग खरसाङका अधिकारी अनिर्बन दाम, पूर्व पार्षद प्रेमेन्द्र गुरुङ, द्वारिका बराइली आदि उपस्थित रहेका थिए। कार्यक्रममा अतिथिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र विभिन्न विद्यालयका विद्यार्थीहरुले आदिकवि भानुभक्त आचार्यको सालिगमा श्रद्धाञ्जलि अर्पण गरे।
भानु जयन्ती समारोहको उत्तरार्द्धको कार्यक्रम खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। कार्यक्रम पद्मश्री सम्मानले सम्मानित सिक्किमका वरिष्ठ साहित्यकार सानु लामाको निधनमा मौन धारण गरेर श्रद्धाञ्जलि अर्पण गरियो।
कार्यक्रममा अन्तर विद्यालय रामायण पाठ प्रतियोगिता सम्पन्न गरियो। प्रतियोगितामा साहित्यकार उषाकिरण सत्यदर्शी, गायिका सुचिता खाती र साहित्यकार सञ्जीव छेत्री निर्णायक थिए। यस अन्तर विद्यालय रामायण पाठ प्रतियोगितामा जम्मा सातवटा विद्यालयले सहभागिता जनाएका थिए, जसमा प्रथम सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालय, दोस्रो पञ्चबत्ती उच्चत्तर माध्यमिक विद्यालय र तेस्रो रामकृष्ण कन्या उच्चत्तर माध्यमिक विद्यालय भए।
प्रतियोगितामा प्रथम हुनेलाई ट्रफीसहित पीएल धमला स्मृति नगद राशि 10 हजार रुपियाँ, दोस्रोलाई ट्रफीसहित 5 हजार र तेस्रोलाई ट्रफीसहित 3 हजार रुपियाँ प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार उषाकिरण सत्यदर्शीले आदिकवि भानुभक्त आचार्यको विषयमा मोतिराम भट्टले लेखेपछि सबैलाई थाहा भएको बताउॅंदै हामीले मोतिराम भट्टलाई पनि सम्झना गर्नु आवश्यक रहेको बताइन्।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधन राख्दै प्राध्यापक मेघनाथ छेत्रीले भानु जयन्ती हामीले भानुभक्त आचार्यको कर्मको पूजा गरेको र भानु जयन्तीलाई हामीले उत्सवको रूपमा मनाउनु पर्ने बताए। उनले भने, भानुभक्तले घाँसीलाई प्रतीक बनाएर प्रेरणा लिएका थिए र जनहितको लागि कार्य गर्दै रामायणलाई संस्कृतबाट नेपालीमा अनुवाद गरे। भानुभक्तले नि:स्वार्थ रुपमा नेपाली जातिको लागि कार्य गरेका थिए। हामीले भानुभक्तको जीवनीबाट संघर्षको पाठ सिक्नुपर्छ। भानुभक्तले जस्तो मेहनत गर्ने, संघर्ष गर्ने र क्रान्ति गर्ने कुराहरु नानीहरुलाई सिकाउनुपर्छ।' उनले भानु जयन्तीलाई हामीले भाषिक र सांस्कृतिक क्रान्तिको रुपमा लिनुपर्छ भने।
हिन्दुस्थान समाचार / हनोक