साहित्य कला संस्थान तीनधारेको आयोजनामा 211औं भानु जयन्ती समारोह सम्पन्न
साहित्य कला संस्थान तीनधारेको आयोजनामा 211औं भानु जयन्ती समारोह सम्पन्न


तीनधारे, 13 जुलाई (हि.स.)। साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा 211औं भानु जयन्ती समारोह सम्पन्न गरियो। तीनधारेको महात्मा गान्धी हलमा सम्पन्न उक्त भानु जयन्ती समारोहलाई साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाइलीले अध्यक्षता गरेका थिए। कार्यक्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान शिक्षिका रञ्जना प्रधान मुख्य अतिथि​ थिइन्।

आदि कवि भानुभक्त आचार्यको तस्वीरमा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरुका‌ बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा गैरी गाउँका‌ युवाहरुले रामायण पाठ गरेका थिए।‌ कार्यक्रममा तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, सारथी स्वनिर्भर दल, ग्राम कल्याण समिति क्रिकेट बजार, रिगल एकाडेमी, गैरी गाउँ आदिद्वारा नृत्य प्रस्तुत गरियो। कार्यक्रममा सेवान छेत्री र सृष्टि सुनारले कविता वाचन गरेका थिए भने स्नेह बरदेवाले लेख प्रस्तुत गरिन्।

कार्यक्रमकी प्रमुख अतिथि प्रधान शिक्षिका रञ्जना प्रधानले आफ्नो सम्बोधनमा साहित्य कला संस्थान तीनधारेले असल र सफल समाज निर्माणको लागि यस्ता कार्यक्रमहरु आयोजना गरिरहेको र यस्ता कार्यक्रमहरुमा‌ विद्यार्थी नानीहरुको सहभागिता महत्वपूर्ण हुने बताइन्। उनले यस्तो कार्यक्रमहरु हुन आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरुबाट नानीहरुले नैतिक शिक्षा सिक्ने बताइन्।

उनले आज समाजबाट संस्कार हराउॅंदै गइरहेको गएको बताउँदै नानीहरुलाई नैतिक शिक्षा दिन आवश्यक रहेको बताइन्। उनले आदिकवि भानुभक्त आचार्यले हाम्रो भाषा र संस्कृतिलाई उच्च स्थानमा पुऱ्याएको बताउँदै आदिकविलाई श्रद्धाञ्जलि अर्पण गरिन्।

गीतकार सुकुमार बराईलीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण साहित्य कला संस्थान् तीनधारेको मूल सचिव सन्तोष लामाले राखेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande