गान्तोक, 18 जुलाई (हि.स.)। सिक्किम पुलिसले हिजो सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका कार्यकर्ताहरूमाथि भएको हमलालाई लिएर मिडिया र जनतामा आधारहिन कुरा प्रचार गरिएको आरोप लगाएको छ। पुलिसले हमलाकाण्ड पुलिस थाना परिसरदेखि टाडामा भएको दाबी गर्दै हमला पुलिस थाना परिसरमा भएको हो भन्ने आरोपको खण्डन गरेको छ।
गान्तोक जिल्लाका पुलिस अधीक्षकले हिजो भिजिलेन्स कार्यालयको घटनालाई लिएर एउटा आपराधिक मामिला दर्ता भएको जानकारी गराए। एसपी भिजिलेन्सले दिवस गुरुङ लगायत 11 जना बदमाशहरूमाथि अनुमति बिना कार्यालयमा प्रवेश गरेको र धम्की दिएको शिकायत आएपछि उनीहरू विरुद्ध सदर थानामा आपरधिक मामिला दर्ता गरिएको उनले बताए।
उनले अन्य विभागहरूमा पनि बदमाशहरू यसरी कार्यालयतिर पसेर सेवानिवृत्तिपछि रिइम्प्लोइमेन्ट पाएका वरिष्ठ नागरिकहरूलाई अपमान गर्ने कार्य भइरहेको मौखिक सूचनाहरू आइरहेको थियो भनी बताए। उनले एक सभ्य समाजमा यस्तो गतिविधिलाई स्वीकार गर्न सकिॅंदैन भन्दै यति सरकारको नीतिलाई चुनौती दिनु हो भने उनीहरू कोर्टमा जान सक्छन् भनी बताए।
अर्कोतिर, पुलिस अधीक्षकले उक्त मामिला दर्ता भएपछि छानबिन चलिरहेको थियो र थानामा आएकाहरूलाई सोधपुछको निम्ति थानामा राखिएको बताए। यस क्रममा राति लगभग 10:30 बजी चार पॉंच जना केटाहरू थानामा आएर निस्किए र उनीहरू यातायात भवनतिर जॉंदै गर्दा अचानक सात-आठ जना अज्ञात बदमाशले उनीहरूमाथि हमला गरेको उनले बताए। हमलाको तत्कालपछि पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रित गरेको उनले बताए।
यसपछि, घाइते व्यक्तिहरू थानामा आएर शिकायत गरे र आफूहरूमाथि थानाभित्र हमला भएको आरोप लगाए, जुन सत्य नरहेको उनले बताए। उनले घटना थानादेखि टाडा भएको हो भन्दै पुलिसमाथि लगाइएका आरोपहरूको खण्डन गरे। उनले मिडिया र जनतालाई दिग्भ्रमित गरिएको आरोप लगाए। उनले अज्ञात व्यक्तिहरू विरुद्ध पनि मामिला दर्ता गरेर जॉंच शुरू गरेको बताए। पुलिसले पूर्ण रूपमा निष्पक्ष जॉंच गर्ने र संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने आश्वासन दिए।
उल्लेखनीय छ, सिटिजन एक्सन पार्टी सिक्किमका कार्यकर्ताहरूमाथि हिजो हमला भएको छ। हमलामा पार्टीका कार्यकर्ताहरू गम्भीर रूपमा घाइते भएका छन्। उनीहरूले सदर पुलिस थाना परिसरमा हमला भएको आरोप लगाएका छन्।
हिन्दुस्थान समाचार / बिशाल