पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन


गान्तोक, 18 जुलाई (हि.स.)। पद्मश्री पुरस्कारले सम्मानित सिक्किमका एक वरिष्ठ साहित्यकार स्वर्गीय गडुलसिंह लामा (जीएस लामा) पञ्चतत्वमा विलिन भएका छन्। राजधानी छेउ दिछेन्लिङ शवदाह गृहमा आज उनको पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न गरियो। स्वगीर्य सानु लामाको गत 12 जुलाई, 2025 का दिन सिलगढीमा निधन भएको थियो।

शुक्रवार बिहान विकास क्षेत्रस्थित स्वर्गीय सानु लामाका आवासबाट दिछेन्लिङ शवदाह गृहसम्म अन्तिम यात्रा शुरू भयो। यस अघि, मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत क्याबिनेट मन्त्रीहरू, विधायकगण, मुख्यमन्त्रीका सल्लाहकारगण, अध्यक्षगण, विभागीय प्रमुखहरू, वरिष्ठ अधिकारीहरू र जन साधारणले स्वर्गीय लामाको घरमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे।

सिक्किमका एक प्रतिष्ठित साहित्यकार सानु लामाको साहित्य, संस्कृति र सार्वजनिक सेवाको सम्मानमा सिक्किम सरकारले उनको अन्तिम संस्कार पूर्ण राजकीय सम्मानको साथमा गर्ने घोषणा गरेको थियो। यस क्रममा आज सरकारी कर्मचारीहरू र राज्य सार्वजनिक क्षेत्रका उपक्रमका कर्मचारीहरूलाई सम्बन्धित विभागीय प्रमुखहरूको पूर्व स्वीकृतिमा अन्तिम संस्कारमा भाग लिन अनुमति दिइएको थियो।

अन्तिम संस्कारको क्रममा दिवंगत आत्मालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सिक्किम आर्म पुलिसले 21 गनको सलामी दिए। स्वर्गीय लामाको शवपेटीमा सम्मानपूर्वक लपेटिएको राष्ट्रिय झण्डा सिक्किम आर्म पुलिसद्वारा मुख्यमन्त्रीलाई हस्तान्तरण गरियो भने मुख्यमन्त्रीले सिक्किम सरकारको तर्फबाट शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande