खरसाङ, 18 जुलाई (हि.स.)। तीनधारेमा पहिलोपल्ट 10 किलोमिटरको म्याराथन आयोजना गरिने भएको छ। तीनधारे रनर्स र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको संयुक्त आयोजनामा 'तीनधारे हिल 10 किलोमिटर रन' आयोजना गरिने बताइएको छ।
तीनधारेमा आगामी 7 सेप्टेम्बरमा हुने भनिएको उक्त म्याराथनलाई लिएर आज बिहान तीनधारेमा ट्रायल रनको आयोजना गरियो। उक्त ट्रायल म्याराथन तीनधारेको ब्लु डाइमण्ड अंग्रेजी स्कूल परिसरबाट शुरु भएर गोलाई पाखास्थित वी लभ तीनधारेसम्म आयोजना गरियो।
यस अवसरमा तीनधारे हिल 10 किलोमिटर रन' को लागि पञ्जीकरण अनलाइन र अफ् फारम दुवैको शुरुवात गरिएको छ। तीनधारेमा हुने हिल 10 किलोमिटर रनमाथि आज भएको ट्रायल रनमा उपस्थित अतिथिहरु क्रमैले क्षेत्रीय सभासद नवराज छेत्री, पूर्व फुटबल खेलाडी धर्मराज थापा, शिक्षक प्रवीण राई र युवराज सुन्दास, युवा शक्ति खरसाङ महकुमा समितिको कार्यकारी सचिव अनुप गदाल, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे खण्ड समितिको सचिव अनिल राई, एल्डर मसीह प्रकाश मोक्तान लगायत अन्यहरु उपस्थित रहेका थिए।
यसको साथै उक्त म्याराथनको लागि जर्सीहरु पनि अनावरण गरिएको छ। तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारेमा पहिलोपल्ट 'तीनधारे हिल 10 किलोमिटर रन' आगामी 7 सेप्टेम्बरमा हुने र यसमा क्षेत्रीय, राज्य र राष्ट्रिय स्तरका रहनहरुले भाग लिन सक्ने बताए। उनले यसको लागि आजदेखि अफ लाइन र अनलाइन पञ्जीकरण शुरू भएको पनि जानकारी गराए।
सभासद नवराज छेत्रीले यस म्याराथनमा सबैलाई भाग लिनलाई अनुरोध गरेका छन्। उनले यो म्याराथन तीनवटा वर्गमा आयोजना गरिने बताए, जसमा पुरुष वर्ग, महिला वर्ग र 45 वर्षमाथिका उमेर सामेल छन्।
तीनधारेका रनर मनिष माझीले पत्रकारहरुलाई सम्बोधन गर्दै तीनधारेमा पहिलोपल्ट म्याराथन 10 किलोमिटर र 6 किलोमिटरको आयोजना हुन लागेको र यो म्याराथन ड्रग्स रोकथाममाथि सचेतनाको लागि आयोजना गरिने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक