दलपचन्दमा सिक्किम गरीब आवास योजना अन्तर्गत नयाँ घरको उद्घाटन
दलपचन्दमा सिक्किम गरीब आवास योजना अन्तर्गत नयाँ घरको उद्घाटन


गान्तोक, 02 जुलाई (हि.स.)। सिक्किम गरीब आवास योजना अन्तर्गत छुजाचेन समष्टिको दलपचन्द ग्राम पञ्चायत एकाईको साधु वार्डमा निर्माण गरिएको मोहन प्रधानको नयाँ घर आज एक औपचारिक समारोहबीच उद्घाटन गरी लाभार्थीलाई हस्तान्तरण गरिएको छ। उद्घाटन कार्यक्रममा समाजसेवी केन्नी गुरुङ, रिगु ब्लक प्रशासनिक केन्द्रका खण्ड विकास अधिकारी अनिल गिरी, ग्रामीण विकास विभागका सहायक अभियन्ता, एसकेएम पार्टीका कार्यकर्ताहरू आदि उपस्थित थिए।

लाभार्थी मोहन प्रधानले मुख्यमन्त्री पीएस तामाङप्रति ह्रदयदेखि धन्यवाद प्रकट गर्दै भने, 'सरकारले दिएको यो सुविधा हामी जस्ता आर्थिक रूपले कमजोर परिवारहरूका लागि आशाको किरण बनेको छ। यस्तो सुन्दर र सजिएको घर पाउनु सपनाजस्तै लागिरहेको छ।' उनले यस घर निर्माणको सम्पूर्ण प्रक्रियाभरि सहयोग र साथ दिँदै आएका क्षेत्र विधायक एवं मन्त्री पुरण गुरुङलाई पनि धन्यवाद दिएका छन्।

सिक्किम गरीब आवास योजनाको उद्देश्य राज्यका गरीब तथा विपन्न परिवारहरूलाई सुरक्षित, सम्मानजनक र सुविधासम्पन्न आवास प्रदान गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ। यो योजना राज्य सरकारले नागरिकको जीवनस्तर उकास्न, समाजमा समावेशी विकास सुनिश्चित गर्न र सबैको लागि सम्मानजनक बासको अधिकार सुनिश्चित गर्न लिएको महत्वपूर्ण कदम हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande