गान्तोक, 22 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष गणेश कुमार राईको अगुवाईमा आज बिहान पार्टीका कार्यकर्ताहरू राज्यका मुख्य सचिवलाई भेट्न टाशीलिङ सचिवालय पुगेका थिए, तर सचिवसॅंग भेट हुन सकेन। गत 17 जुलाईका दिन राजधानीमा सीएपी नेतृत्वहरूमाथि भएको हमलाकाण्डलाई लिएर सीएपी अध्यक्ष आज मुख्य सचिवलाई भेट्न आएका थिए। सचिवालय परिसरमा तैनात पुलिसकर्मीहरूले सीएपी कार्यकर्ताहरूलाई सचिवालयमा प्रवेश गर्न दिएनन्।
टाशीलिङ सचिवालय परिसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै सीएपी अध्यक्षले सोमवार सॉंझ मुख्य सचिव कार्यालयले मंगलवार बिहान 10:30 बजी मुख्य सचिवलाई भेट्ने समय दिएको र आज आफूहरू 10:50 बजी सचिवालय आइपुग्दा भित्र प्रवेश गर्न नदिएको जानकारी गराए। उनले पश्चिम सिक्किमबाट राजधानी आइपुग्न समय लागेको र ट्राफिक समस्याका कारण निर्धारित समयमा सचिवालय आउन असमर्थ बनेको अवगत गराए। उनले गत 17 जुलाईका दिन सीएपी नेतृत्वहरूमाथि सदर थाना परिसरमा प्राणघातक हमला भएको र अहिलेसम्म कुनै कारबाही नभएको विषयमा मुख्य सचिवलाई ज्ञापन बुझाउन आएको बताए।
उनले यस अघि पनि सीएपी नेता आशिष राईमाथि हमला भएको थियो भने उक्त घटनालाई लिएर डीजीपीलाई ज्ञापन बुझाए तापनि कुनै कारबाही नभएको बताए। यस कारण गत 17 जुलाईका दिन भएको घटनाको सम्बन्धमा प्रशासनका प्रमुख मुख्य सचिवलाई भेटेर ज्ञापन बुझाउन आएको उनले स्पष्ट पारे। तर, आफूहरूले मुख्य सचिवको कार्यालयमा जाने अनुमति नपाएको र अपोइन्टमेन्टको लागि फेरि आवेदन गर्न निर्देश दिइएको उनले बताए। उनले मुख्य सचिव र पुलिसकर्मीहरूलाई भन्नु केही नरहेको बताउॅंदै सबै मिन्तोकगाङको इशारामा चल्नुपर्ने अवस्था रहेको दाबी गरे।
सीएपी अध्यक्ष राईले आज आफूहरू सिक्किममा कानून-व्यवस्था सुनिश्चित होस् र राज्यका आम मानिसहरू लगायत विपक्षी राजनीतिक दलका नेताहरू, उनीहरू परिवार र कार्यकर्ताहरूको सुरक्षा सुनिश्चित होस् भन्न खातिर ज्ञापन बुझाउन आएका थियौं भनी बताए। मुख्य सचिवले आगामी दिनहरूमा यस्तो घटना फेरि नदोहोरियोस् र राज्यका सबै नागरिकहरूले सुरक्षित महसुस गर्न सकुन् भनी प्रशासनले आशा, भरोसा र विश्वास दिन सक्नुपर्छ भनी उनले बताए।
उनले यो वर्ष 2025 भित्र प्रशासनले सिक्किमे जनतामा सुरक्षाको भावना सुनिश्चित गर्ने काम गर्नुपर्छ, नत्र सीएपीले नागरिक सुरक्षा दल निर्माण गर्नेछ भने। उनले नागरिक सुरक्षा दल निर्माण गर्नुको उद्देश्य आम नागरिकहरूको सुरक्षा, विपक्षी पार्टीका परिवार, नेता र कार्यकर्ताहरूको सुरक्षा गर्नु रहने स्पष्ट पारे। उनले सीएपी यदि यो दल निर्माण गर्नु पर्ने अवस्थामा पुग्यो भने यसको सरासर जिम्मा सरकार र प्रशासन हुनेछ भने। उनले जनताको सुरक्षा सुनिश्चित गर्न सीएपीले आवश्यक सबै ठाउॅंहरूमा गुहार लगाउने छ र यदि सबै तिरबाट निराशा हात लागेको खण्डमा नागरिक सुरक्षा दल गठन गर्ने बताए।
उनले नागरिक सुरक्षा दलको गठन कसैमाथि हमला गर्नु होइन, तर जनतामा सुरक्षाको भावना सुनिश्चित गर्न गरिने बताए। उनले आज विपक्षी नेताहरूको घर परिवारमा आतङ्क छाएको छ भन्दै राज्यमा व्याप्त अराजकता रोक्ने काम प्रशासनको हो भनी बताए।
यस अतिरिक्त, सीएपी अध्यक्षले मल्ली पुलिस थानाका एसएचओ विरुद्ध पनि ज्ञापन पत्र बुझाएको बताए। उनले एसएचओमाथि एसकेएम पार्टीको कार्यकर्ताको रूपमा काम गरेको आरोप लगाउॅंदै उनको स्थानान्तरणको माग गरे।
हिन्दुस्थान समाचार / बिशाल