सीएपीले राजधानीमा शान्ति ऱ्याली निकाल्यो
सीएपीले राजधानीमा शान्ति ऱ्याली निकाल्यो


- सरकारले यदि नागरिकहरूको सुरक्षा गर्दैन भने नागरिकहरूलाई आत्मरक्षा गर्ने अधिकार छ: गणेश राई

गान्तोक, 29 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आज राजधानीमा शान्ति ऱ्याली निकाल्यो। राज्यमा कथित बढ्दो हिंसाको विरोधमा निकालिएको शान्ति ऱ्याली राजधानीको इन्दिरा बाइपासबाट शुरू भएर सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र परिसर पुगेर समापन भयो।

ऱ्यालीमा सीएपी अध्यक्ष गणेश कुमार राई लगायत पार्टी नेतृत्वहरू र कार्यकर्ताहरू सहभागी बने। अविरल वर्षाबीच पनि सीएपी कार्यकर्ताहरू नाराबाजी गर्दै ऱ्यालीमा सहभागी बनेका थिए।

पत्रकारहरूलाई सम्बोधन गर्दै सीएपी अध्यक्ष राईले सदर थाना परिसरमा सीएपीका नेताहरूमाथि प्राणघातक हमला गरिएको थियो भने यस घटनाको सम्बन्धमा पुलिस प्रशासनले अहिलेसम्म कसैलाई पनि पक्राउ नगरेको बताए। यस अतिरिक्त उक्त घटनाको विषयमा राज्यका मुख्य सचिवलाई पनि ज्ञापन बुझाइएको, तर ज्ञापन बुझाएको एक हप्ता बितेर जॉंदा पनि कुनै कारबाही नभएको उनले आरोप लगाए। यस कारण राज्यमा बढ्दो राजनीतिक हिंसाको विरोधमा आज ऱ्याली निकाल्न बाध्य बनेको उनले बताए।

प्रश्नहरूको जवाफ दिॅंदै सीएपी अध्यक्षले भने, सदर थानामा सीसीटीवी फुटेज भएको ठाउॅंमा आक्रमण भएको छ। उनीहरूले सीसीटीवी फुटेज किन जारी गर्दैन? यदि यसमा सीएपी संलग्न छ भने कारबाही गर्दा हुन्छ। सूचना छ भने कारबाही किन गर्दैन? उनले यी सबै ध्यान भट्काउने काम हुन् भन्दै उनीहरूको बयानले यो हमला सरकार र एसकेएमको निर्देशनमा भएको हो भन्ने स्पष्ट भएको आरोप लगाए।

नागरिक सुरक्षा दलको बारेमा बोल्दै उनले यदि सरकार र प्रशासनले नागरिकहरूको र विपक्षी पार्टीका कार्यकर्ताहरूको सुरक्षा गर्दैन भने संविधानले सबैलाई आफ्नो आत्मरक्षा गर्ने अधिकार दिएको छ भनी बताए। हामीले आफ्नो सुरक्षा आफै गर्छौं मात्र भनेका हौं र यो कुनै विवादको कुरा होइन भनी उनले बताए।

सीएपी अध्यक्षले आज ऱ्याली गर्नुको उद्देश्य सरकार समक्ष कुनै माग राख्नु होइन, तर लोकतन्त्रका मालिक जनतालाई आह्वान गर्नु रहेको बताए। उनले जनताको जिम्मेवारी भो​ट दिएर सरकार बनाउनु मात्र होइन भन्दै संविधानले दिएको हक-अधिकारको सुरक्षा गर्ने काम पनि आम नागरिकको हो भने। उनले सत्ताको दुरुपयोग भइरहेको विरोधमा जनतालाई अघि आउने आह्वान गर्न ऱ्याली आयोजन गरिएको बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande