राभाङला, 11 अगस्त (हि.स.)। राष्ट्रव्यापी “हर घर तिरङ्गा” अभियान अन्तर्गत, राष्ट्रिय प्रविधि संस्थान (एनआइटी), सिक्किमद्वारा आज तिरङ्गा ऱ्याली आयोजित गरियो। भारतको 79 औं स्वतन्त्रता दिवसको छेकमा राष्ट्रवादको भावनाका साथ ऱ्याली संस्थानको क्याम्पसबाट शुरु भई राभाङला महकुमा कार्यालयमुनि राष्ट्रिय राजमार्ग 510 बाइपास पुगी समापन भयो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
राष्ट्रवादी भावनालाई निरन्तरता दिँदै भारत सरकारले 2 अगस्तदेखि 15 अगस्त, 2025 सम्म राष्ट्रव्यापी हर घर तिरङ्गा उत्सव घोषित गरेको छ। सरकारको ध्वजवाहक कार्यक्रमहरूलाई निष्ठापूर्वक कार्यान्वयन गर्न एनआईटी सिक्किम प्रतिबद्ध छ।
विद्यार्थी, सङ्काय अनि कर्मचारीहरूबीच राष्ट्रिय गौरव अनि ऐक्यता पोषित गर्न ऱ्याली लक्षित रहेको थियो। एनआईटी सिक्किमका निर्देशक प्रो. महेशचन्द्र गोविलद्वारा 39 फिल्ड रेजिमेन्ट, राभङलाका लेफ्टिनेन्ट माधव शर्मालगायत कूलसचिव, अधिष्ठाता अनि विभाग प्रमुखहरूको सम्मानजनक उपस्थितिमा ऱ्यालीलाई झण्डा देखाएर प्रस्थान गराइएको थियो।
समन्वित रूपमा राष्ट्रिय एकता प्रदर्शित गर्दै 400 भन्दा धेरै प्रतिभागीले राष्ट्रिय ध्वज बोकी राष्ट्रवादी नारा लगाउँदै संस्थानको परिसर परिक्रमा गरे।
ऱ्यालीपछि, प्रो. गोविलले स्वतन्त्रता सेनानीहरूका बलिदानप्रति श्रद्धाञ्जलिस्वरूप तिरङ्गाको प्रतीकात्मक महत्त्व रेखाङ्कित गर्दै प्रेरक भाषण दिए। भारतको सार्वभौमिकता अनि एकताको विरासतलाई सर्वोच्च मानकका साथ युवाहरूले अक्षुण्ण राख्नुपर्ने उनले आह्वान जनाए।
39 फिल्ड रेजिमेन्टका कमाण्डिङ अफिसर कर्णल शुभोजीत डेले अपरेशन सिन्दूरका समय रक्षा तन्त्रहरूबीच समन्वयन अनि भूमिकाबारे प्रकाश पारे। त्यस्ता चुनौतीहरूलाई प्रभावी रूपमा सम्बोधित गर्न भारतीय सशस्त्र बलद्वारा तैनाथ उन्नत प्रविधि अनि उपकरणबारे पनि उनले अवगत गराए।
क्याम्पसमा राष्ट्रवादको भावना उत्प्रेरित गर्न, 79औं स्वतन्त्रता दिवसको निम्ति संस्थानले सप्ताहव्यापी रूपमा शृङ्खलागत कार्यक्रमहरू आयोजित गर्नेछ।
हिन्दुस्थान समाचार / बिशाल