सोनादा पुलिसको आयोजनामा स्वास्थ्य जाँच, रक्तदान शिविर साथै ड्रग्स रोकथामबारे सचेतना कार्यक्रम सम्पन्न
सोनादा पुलिसको आयोजनामा स्वास्थ्य जाँच, रक्तदान शिविर साथै ड्रग्स रोकथामबारे सचेतना कार्यक्रम सम्पन्न


सोनादा, 11 अगस्त (हि.स.)। सोनादा पुलिस आउट पोस्ट अनि सोनादा ट्राफिक पुलिसको संयुक्त आयोजनामा सिलगढी लायन्स क्लब, काम्ती हेल्थ केयर अनि सिलगढी लायन्स नेत्रालयको सहकार्यमा आज सोनादामा स्वास्थ्य जाँच शिविर, रक्तदान शिविर साथै ड्रग्स रोकथामबारे सचेतना कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा दार्जिलिङ पुलिसका टाउन डीएसपी उज्वल सरकार, सीआई सदर पार्थ सारथी चन्द्रा, आईसी सदर मिग्मा भोटिया साथै जोरबङ्लो थाना प्रभारी निरज राई उपस्थित थिए।

कार्यक्रममा ड्रग्स विरुद्ध अभियानमा सक्रिय भूमिका निभाउँदै आएको नव युवा संगठन/वरिष्ठ नागरिक मञ्च, फूलबारी होपटाउन ग्राम सुधार समिति अनि मुन्सी गाँउ समाज मुण्डाकोठीलाई अतिथिहरुका बाहुलीबाट सम्मान जनाइयो। ड्रग्स जस्तो घातक नशाकाे प्रभावबाट मुक्त बनेर समाजलाई बचाउन अघि आउने व्यक्तिहरु क्रमैले कल्पना तामाङ, संजोक तामाङ, टाँसी भोटिया, लाक्पा शेर्पा अनि नुपु भोटियालाई पनि सम्मान जनाइएको छ।

कार्यक्रममा सम्मानित व्यक्तिहरुले आफ्नो अनुभव साझा गर्दै सबैलाई नशामुक्त रहन अनुरोध गरेका थिए। यसरी नै गम्भीर बिरामीको चपेटमा परी आशक्त बनेका दुई बिरामी अप्पर सिडर्स निवासी कुमार छेत्री अनि ओक्स नवधुरा निवासी रामसिंह थापालाई ह्वील चेयर प्रदान गरियो। शिविरमा सोनादा क्षेत्रका विभिन्न संघ संस्थाहरु, विभिन्न ट्याक्सी सेण्डीकेटका प्रतिनिधिहरु, ट्रक एसोसिएशन प्रतिनिधिहरु सहभागी बनेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande