12 अगस्तदेखि 'इण्टेन्सिफाइड आईईसी क्याम्पेन' शुरु हुने
12 अगस्तदेखि 'इण्टेन्सिफाइड आईईसी क्याम्पेन' शुरु हुने


गान्तोक, 11 अगस्त (हि.स.)। राष्ट्रिय एड्स नियन्त्रण संगठनको निर्देशनमा देशव्यापी “इण्टेन्सिफाइड आईईसी क्याम्पेन” आगामी 12 अगस्त, 2025 देखि अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा शुरु हुने भएको छ। यो अभियान 12 अक्टोबर, 2025 सम्म चल्नेछ। यसअघि 2024 मा सम्पन्न यस्तै जनचेतना कार्यक्रमको सफलतापछि यस वर्ष पुनः व्यापक रुपमा आयोजना गर्न लागिएको हो।

भारत विश्वकै दोस्रो सर्वाधिक एचआईभी/एड्स संक्रमित जनसंख्या भएको देश हो। सन् 2023 को अनुमान अनुसार देशमा करिब 25.44 लाख एचआइभी पोजिटिभ व्यक्ति रहेका छन्। यस विशेष अभियानका मुख्य उद्देश्यहरूमा— एचआइभी संक्रमणका माध्यम र रोकथामबारे जनचेतना बढाउने, ‘एचआइभी/एड्स (निवारण तथा नियन्त्रण) ऐन 2017’ को जानकारी दिई संक्रमित तथा प्रभावितमाथिको कलंक र भेदभाव अन्त्य गर्न प्रोत्साहित गर्ने, गर्भवती महिलाहरूमा एचआइभी र सिफलिस परीक्षणबारे सचेतना फैलाउने, तथा एचआइभी परीक्षण, यौनसञ्चारित रोग (एसटीआई) सेवा, कन्डम उपलब्धता लगायत नेकोद्वारा प्रदान गरिने अन्य सेवाहरू जस्तै राष्ट्रिय एड्स टोल-फ्री नम्बर १०९७—को उपयोगमा माग सिर्जना गर्ने समावेश छन्।

सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटीले उक्त अभियानलाई भव्य रूपमा शुभारम्भ गर्दै विभिन्न गतिविधिहरू सञ्चालन गर्ने जनाएको छ । यसमा—

1. फिजियोथेरापिस्ट एसोसिएशनद्वारा बाइक र्‍याली

2. अखिल भारतीय रेडियो (एआईआर) मार्फत मिड-मिडिया कार्यक्रम प्रसारण

3. राज्यभर लोक–समूह तथा ‘फ्ल्यास मोब’ प्रस्तुतिहरू

4. पश्चिम जिल्ला र सोरेङमा आशा कार्यकर्ताद्वारा घर–घर अभियान

5.अन्तर-कलेज क्विज प्रतियोगिता

जस्ता कार्यक्रमहरू समावेश छन्। अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा सम्पूर्ण जिल्ला स्तरमा एचआईभी/एड्स तथा सम्बन्धित विषयहरूबारे जनचेतना कार्यक्रम भइरहेको र यस अभियानलाई सफल बनाउन सबैको साथ आवश्यक रहेको सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटीले अनुरोध गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande