गान्तोक, 11 अगस्त (हि.स.)। गान्तोक नगर निगमले आज हर घर तिरङ्गा- हर घर स्वच्छता अभियान अन्तर्गत तिरङ्गा ऱ्याली आयोजन गऱ्यो। रांका फाटकबाट शुरू भएको तिरङ्गा ऱ्याली सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र (डीएसी) गान्तोक आइपुगेर समाप्त भयो।
तिरङ्गा ऱ्यालीमा अप्पर बुर्तुक निर्वाचन क्षेत्रकी विधायक कला राई मुख्य अतिथिको रूपमा सहभागी बनिन्। विधायक राईको अगुवाईमा आयोजित तिरङ्गा ऱ्यालीलाई जिल्ला प्रशासनिक केन्द्र, गान्तोकमा जिल्लापालले स्वागत जनाएका थिए।
तिरङ्गा ऱ्यालीमा नगर निगमका पार्षदगण, अधिकारीहरू र कर्मचारीहरू, स्वयं सहायता समूह र एनएसएस स्वयंसेवकहरू लगायत स्थानीय विद्यालयका विद्यार्थीहरू सहभागी थिए। तिरङ्गा ऱ्याली आयोजन गर्नुको मुख्य उद्देश्य फोहोर पृथकीकरण र सरसफाई प्रवर्द्धन विषयमा जागरुकता फैलाउनु रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल