'सिक्किममा जलवायु सङ्कटलाई सम्बोधित गर्न खानपान, भूमि र जल प्रणालीमा परिवर्तन' विषयमाथि कार्यगोष्ठी आयोजित
सिक्किममा जलवायु सङ्कटलाई सम्बोधित कार्यगोष्ठी आयोजित


- विशेषज्ञहरूद्वारा सिक्किममा जलवायु अनुकूल कृषि प्रोत्साहित गर्ने रणनीतिमाथि चर्चा

गान्तोक, 16 अगस्त (हि.स.)। पूर्वोत्तर क्षेत्रका लागि आईसीएआर अनुसन्धान परिषद, सिक्किम केन्द्र, तादोङद्वारा 16 अगस्तको दिन “सिक्किममा जलवायु सङ्कटलाई सम्बोधित गर्न खानपान, भूमि र जल प्रणालीमा परिवर्तन” विषयमाथि कार्यगोष्ठी आयोजित गरियो। उक्त जानकारी आज पीआईबीले दिएको छ।

मुख्य अतिथिका रूपमा उपस्थित सिक्किम सरकारको कृषि विभागका प्रधान निर्देशक टीटी भोटियाद्वारा कार्यक्रमको उद्घाटन गरियो। यस अवसरमा पशुपालन एवं पशुचिकित्सा विज्ञान विभागका अतिरिक्त निर्देशक डा. थिन्ले एन भोटिया विशेष अतिथिका रूपमा उपस्थित थिए।

आफ्नो स्वागत सम्बोधनमा आईसीएआर-आरसी, एनईएच क्षेत्र, सिक्किम केन्द्रका प्रमुख डा. अशोक कुमारले कार्यगोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै जलवायु अनुकूल कृषिका लागि राष्ट्रिय पहल (एनआइसीआरए) अन्तर्गत यो आयोजित गरिएको बताए। ज्ञान साझा गर्न, अनुसन्धान अन्तर चिन्हित गर्न, सम्बद्ध विभागहरूबीच सिक्किमका कृषि समुदायले सामना गरिरहेका जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधित गर्न विविध क्षेत्रबीच सहकार्यलाई बढावा दिन संवादमूलक मञ्चको आवश्यकतामाथि उनले बल दिए। यसका साथै वहनीय कृषि चलनको प्रयोग गर्दै जलवायु अनुकूल जैविक खाद्य उत्पादन प्रविधि पनि तत्काल प्रोत्साहित गर्न आवश्यक रहेको डा. कुमारले बताए।

आफ्नो सम्बोधनमा मुख्य अतिथि टीटी भोटियाले रोगमुक्त रोपन सामग्रीका लागि सार्वजनिक नर्सरीलाई सुदृढ बनाउनका साथै भूमि विकास, माटोको पुनरूद्धार, लघु स्तरमा विस्तार गर्नसकिने गैर मौसमी साग-सब्जीको खेतीका साथमा सिक्किमको हिमाली कृषि परितन्त्र सेवालाई वहनीय बनाउने सुनिश्चित गर्न पारम्परिक जैव संसाधानको संरक्षण गर्न आवश्यक रहेको कुरामाथि जोड दिए।

वरिष्ठ वैज्ञानिक (माटो विज्ञान) तथा आयोजक सचिव डा. एसके दासले जलवायु दुरूस्त जैविक तथा प्राकृतिक उत्पादन प्रणालीको उत्पतिका साथमा यसमा परिवर्तनको आवश्यकता रेखाङ्कित गरे।

संवादमूलक प्रस्तुतिमा विशेषज्ञहरूले जलवायु अनुकूल कृषि, वहनीय कृषि प्रथा, जैविक खाद्य उत्पादन लगायतका विभिन्न विषयमाथि जानकारी साझा गरे। डा. भर्गिसले राज्य स्तरीय बिक्रेता-खरिददार भेला, कृषिलाई प्रोत्साहन लगायत आईसीएआर-आरसी, सिक्किम केन्द्रमा कृषि प्रविधि सूचना केन्द्र अनि जैविक खेतीमा उत्कृष्टता केन्द्र स्थापना गर्नुपर्ने कुरामाथि जोड दिए।

डा. मलय आर चौधरीले स्थानीय जलवायुको विविधतालाई सम्बोधित गर्न खेतीको पद्धतिमा परिवर्तनको निम्ति प्रणालीबद्ध अध्ययनको आवश्यकतामाथि बल दिए। डा. सुजाता उपाध्यायले इस्कुस टिपाइपछिको प्रशोधनको महत्त्वबारे अवगत गराउनका साथै कम उपयोगमा रहेका राज्यका अन्य स्थानीय फसलहरू सिक्किम बाहिर लोकप्रिय बनाउन आवश्यक रहेको बताइन्। डा. जगनले सिक्किममा जैविक उत्पादको मूल्य निर्धारणका लागि उपयुक्त संरचनाका साथमा जैविक खाद्य परीक्षण एवं प्रमाणिकरण प्रयोगशाला तत्काल स्थापित गर्नुपर्ने उल्लेख गरे।

डा. थिन्ले भोटियाले पशुको स्वास्थ्यमाथि अनुसन्धानका साथमा सीमापार रोग वाहकहरूको आणविक विश्लेषणका साथमा लघु एवं मध्यम कृषकहरूको निम्ति पशु आहारको मौसमी आवश्यकता पूरा गर्न व्यापक स्तरमा मकैको खेतीमाथि जोड दिनुपर्ने बताए।

कार्यगोष्ठीमा सम्बद्ध विभागका वरिष्ठ अधिकारी, वैज्ञानिक, प्रगतिशील कृषक विशेषज्ञहरू लगायत जैव संसाधन एवं वहनीय विकास संस्थानका (आइबीएसडी) डा. के जगन, भारतीय मौसम विज्ञान विभागका (आइएमडी) डा. मलय आर चौधरी, सिक्किम विश्वविद्यायलयको बागवानी विभाग प्रमुख डा. सुजाता उपाध्याय, भारतीय अलैंची अनुसन्धान संस्थान, मसला बोर्ड, गान्तोकका डा. जोन जे भर्गिस अनि गोविन्दबल्लभ पन्त हिमाली पर्यावरण संस्थानका (एनआइएचई) डा. सन्दीप रावत सहभागी रहेका थिए।

कार्यक्रमको अन्त्यमा, आइसीएआर-आरसी, एनईएच क्षेत्र, सिक्किम केन्द्रका वैज्ञानिक (कृषि विज्ञान) डा. अमित कुमारद्वारा धन्यवाद ज्ञापन पेश गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande