कुचबिहार, 7 अगस्त (हि.स)। सिलगढ़ी र मयनागुड़ी लगायत अन्य कतिपय ठाउँहरूमा एटीएम लुटका घटनाहरू घटिरहेको अवस्थामा कुचबिहार जिल्लाको दिनहाटा शहरमा रातीको अँध्यारोमा एटीएमको सुरक्षालाई लिएर शहरवासीहरूले प्रश्न उठाइरहेका छन्।
शहरको दोलाबाड़ी क्षेत्रसम्म धेरैवटा ठाउँमा सरकारी तथा निजी ब्यांकहरूका एटीएम काउन्टरहरू छन्। तर अचम्भको कुरा के छ भने यी काउन्टरहरू अहिले पनि असुरक्षित स्थितिमा छन्। जति-जति रात गहिरिँदै जान्छ यहाँ सुरक्षाको अभाव स्पष्ट रूपमा देखिन थाल्छ। अधिकांश एटीएममा गार्ड वा सुरक्षाकर्मी हुँदैनन्। कुनै पनि समय ठूलो घटना हुनसक्छ। त्यसैले स्थानीय मानिसहरूले एटीएम काउन्टरहरूको सुरक्षाको माग गरेका छन्।
शहरवासी निमाई साहाले भने, जति-जति रात छिप्पिँदै जान्छ शहर सुनसान हुँदै जान्छ। त्यसबेला एटीएम पूर्ण रूपले खाली हुन्छ। कुनै पनि समय चोरी हुने खतरा रहन्छ। हालैमा के देखियो भने राती दश बजेपछि अधिकांश एटीएम काउन्टरहरू पूर्ण रूपले खाली हुन्छ। भित्र न कुनै गार्ड हुन्छ न कुनै सुरक्षाको व्यवस्था।
अर्कोतिर शहरको गोधुली बजार क्षेत्रमा पनि सरकारी तथा निजी ब्यांकहरूका एटीएमहरू छन्। यहाँको एक निजी ब्यांकको एटीएममा दिउँसो सुरक्षा गार्ड रहे पनि राती कुनै सुरक्षा हुँदैन। हामीले त्यस ब्यांकका शाखा प्रबन्दक सञ्जीव जायसवालसित कुरा गर्ने चेष्टा गरेको थिएँ, तर तिनले समय नभएको बताउँदै मेरो कुरालाई टारिदिए।
यस सम्पूर्ण मामिलामा दिनहाटा थाना प्रभारीसित कुरा गर्दा उनले भने, पुलिसको टीमले राती गस्ती गर्छ। तथापि एटीएमको सुरक्षा मुख्य रूपमा सम्बन्धित ब्यांकहरूको जिम्मेवारी हो। उनले सम्बन्धित ब्यांकहरूसित बातचित गरी सुरक्षा गार्डलाई तैनाथ गराउने यथासम्भव प्रयास गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा