गान्तोक, 07 अगस्त (हि.स.)। उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा पर्ने धराली क्षेत्रमा बुधवार आकस्मिक रूपमा बादल फाट्यो र त्यस भीषण प्राकृतिक विपत्तिपछि खीरगंगा नदीमा अचानक आएको बाढी र पैह्रोले अपूर्णीय क्षति पुर्याएको छ। उक्त विनाशकारी घटनामा कैयौँ निर्दोष नागरिकहरूले ज्यान गुमाएका छन्, कैयौँ अझै बेपत्ता छन् र सयौं परिवारहरू घरबार बिहीन भएका समाचारले एसडीएफ परिवारलाई अत्यन्तै मर्माहत बनाएको बताइएको छ।
एसडीएफ प्रचार प्रसार उपाध्यक्ष जूडी राईले यस अत्यन्त दुःखद घडीमा एसडीएफ पार्टी ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेकी छन्। उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै धैर्य र सहनशक्तिको कामना गरेकी छन्। उनले बेपत्ता व्यक्तिहरूको सकुशल उद्धारको लागि ईश्वरसँग प्रार्थना गर्दै, विस्थापित र प्रभावित परिवारहरूलाई शीघ्र राहत तथा पुनर्स्थापना उपलब्ध गराउन उत्तराखण्ड सरकार र भारत सरकारसमक्ष हार्दिक अनुरोध पनि गरेकी छन्।
उनले यस अत्यन्त दुःखको घडीमा सम्पूर्ण उत्तराखण्डवासी तथा धराली क्षेत्रका त्यस भयावह प्राकृतिक प्रकोपको चपेट्मा परेका परिवारहरूलाई सबै सम्भव सहयोगहरूका लागि तत्पर रहने विज्ञप्तिमा बताएकी छन्।
हिन्दुस्थान समाचार / बिशाल