लखनऊ, 12 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊमा काकोरी थाना क्षेत्रमा बिहिवार अबेर राति कैसरबाग डिपोको रोडवेज बस दुर्घटनाग्रस्त भयो। दुर्घटनामा बसमा सवार पाँच यात्रीको मृत्यु भयो जबकि 19 जना घाइते भए। घटनाको जानकारी पाएर मण्डलायुक्त डा. रोशन जैकब, लखनऊ पुलिस कमिश्नर अमरेन्द्र कुमार सेंगर, जिल्लाधिकारी विशाख जी समेत तमाम प्रशासनिक अधिकारीले अस्पताल पुगेर घाइतेहरूको हालचाल सोधे।
पुलिस कमिश्नरले बताए, हरदोईबाट यात्रीहरू लिएर कैसरबाग डिपोको रोडवेज बस (यूपी 78 एल एन 1340) लखनऊ आइरहेको थियो। बिहिवार राति बेता नाला पुल टिकैतगंज निकट अनियन्त्रित भएर बाटोदेखि तल पल्टियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइतेहरूलाई अस्पताल पुऱ्याएर शवहरूलाई पोस्टमार्टमको निम्ति पठायो।
ट्रामा सेन्टर पुगेर घाइतेहरूको हालचाल सोधेपछि जिल्लाधिकारी विशाखले डाक्टरहरूलाई रोगीहरूको उत्तम उपचारको निर्देश दिएका छन्। उनले बताए, रोडवेज बस हरदोईबाट लखनऊ आइरहेको थियो। एक बटुवालाई बचाउने चक्करमा बस अनियन्त्रित भएर पल्टियो। दुर्घटनामा पाँच जनाको ज्यान गएको छ र 19 जना घाइते भएका छन्।
डीएमले बताए, घाइतेहरूलाई पहिले सीएचसी काकोरी र मलिहाबाद पठाइयो। यिनीहरूमा गम्भीर आठ रोगीलाई केजीएमसी ट्रामा सेन्टर लगियो। एकको उपचार बलरामपुर अस्पतालमा चलिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी