खरसाङ, 18 सेप्टेम्बर (हि.स.)। भारतीय नेपाली साहित्यको पहिलो महत्तर सदस्य साहित्यकार असीत राईको सालिग निर्माणको लागि असीत राई स्मृति साहित्यिक संस्थान् महानदी तीनधारे समष्टिको टोलीले मूर्तिकार अमीर सुन्दाससित भेटघाट गरेका छन्। उक्त टोलीले मूर्तिकार अमीर सुन्दासको बाख्राकोटस्थित घर पुगेर भेटघाट गरेका छन्।
साहित्यकार असीत राईको सालिग महानदीमा निर्माण गर्नको लागि पहलस्वरुप उक्त टोलीले मूर्तिकारसित भेटघाट गरेका छन्। टोलीमा असीत राई स्मृति साहित्यिक संस्थान् महानदी तीनधारे समष्टिको सभापति शेखरचन्द्र प्रधान, उप सभापति मिलन प्रधान, सचिव हनोक थापा, कोषाध्यक्ष एवं महानदी ग्राम पञ्चायतको प्रधान पासाङ शेर्पा, सल्लहाकार राजीव थापा र केवल राई रहेका थिए।
उक्त टोलीले बाग्राकोटस्थित मूर्तिकार अमीर सुन्दासको घरमा भेट गर्नुका साथै उनको कार्यस्थलमा पुगेर विभिन्न सालिगहरुको निरीक्षण पनि गरेका थिए। टोलीले मूर्तिकार अमीर सुन्दाससित साहित्यकार असीत राईको सालिग महानदीमा स्थापना गर्ने विषयमा छलफल गरे। यस अवसरमा साहित्यकार रुपेश शर्मासॅंग पनि भेट गरेको बताइएको छ।
उल्लेखनीय छ, भारतीय नेपाली साहित्यको पहिलो महत्तर सदस्य साहित्यकार असीत राईको सालिग निर्माणको लागि असीत राई स्मृति साहित्यिक संस्थान् महानदी तीनधारे समष्टिको गठन गरेर कार्य चलिरहेको छ। मूर्तिकार अमीर सुन्दासको तर्फबाट तीन महिनाभित्रमा सालिग बनाइदिने वचनवद्धता प्रकट गरेका छन् भने सोही अनुसार कमिटीले अब निरन्तर कार्य अघि बढाउने भएको जानकारी प्राप्त भएको छ।
हिन्दुस्थान समाचार / हनोक