जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिने
जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिने


सोनादा, 18 सेप्टेम्बर (हि.स.)। दार्जिलिङका वरिष्ठ नाट्य कलाकार जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिने भएको छ। भारतीय नेपाली साहित्यका एक वरिष्ठ साहित्यकार, नाटककार, लोक संगीतकार, व्यङ्ग्यकार स्वर्गीय मनबहादुर गुरुङको स्मृतिमा गठित स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाले प्रत्येक वर्ष मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता सम्पन्न गर्नाका साथै कुनै एकजना भारतीय नेपाली विशिष्ट नाटककारलाई मनबहादुर गुरुङ स्मृति नाट्य सम्मान प्रदान गर्ने कार्यक्रम गर्दै आइरहेको छ।

यस वर्ष पनि आगामी 24 सेप्टेम्बर, 2025 को दिन सोनादा डिग्री कलेज अनि स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानको तत्वावधानमा सोनादास्थित न्यु लाइट क्लबको प्रेक्षागृहमा मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता साथै दार्जिलिङका विशिष्ट नाटककार जीवन गुरुङलाई मनबहादुर गुरुङ स्मृति नाट्य सम्मानले सम्मानित गरिने भएको छ‌। उक्त कार्यक्रम विषयमा सोनादामा पत्रकार सम्मेलनमार्फत् साहित्यकार मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाका पदाधिकारीहरुले जानकारी गराएका छन्।

पत्रकार सम्मेलनमा मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाका संयोजक प्राध्यापक मेघनाथ छेत्री, संरक्षक सुमन गुरुङ, सदस्यहरु नरेश कटुवाल अनि रसिक छेत्री उपस्थित भएर यस सम्मान र अन्तर विद्यालय तर्क प्रतियोगिता विषयमा जानकारी गराएका छन्। प्रतिष्ठानका संयोजक एवं प्राध्यापक मेघनाथ छेत्रीले जानकारी गराए अनुसार, आगामी 24 सेप्टेम्बरको दिन सोनादा डिग्री कलेज र साहित्यकार मनबहादुर गुरुङ स्मृति प्रतिष्ठान सोनादाको संयुक्त आयोजनामा अन्तर विद्यालय तर्क प्रतियोगिता र मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरिने छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande