इम्फाल, 20 सेप्टेम्बर (हि.स.)। मणिपुरमा उग्रवादीविरूद्ध पुलिस एवं सुरक्षा बलहरूको धर-पकड़ अभियान जारी छ। मणिपुर पुलिस मुख्यालयद्वारा बताइए अऩुसार बितेको 24 घण्टाभित्रमा संचालित भिन्न-भिन्न अभियानहरूमा प्रतिबन्धित कांगलीपाक कम्युनिस्ट पार्टी (केसीपी)- का विभिन्न गुटहरूसित आवद्ध तीनजना सक्रिय क्याडरहरूलाई पक्राउ गरिएको छ।
सुरक्षाकर्मीहरूले बिष्णुपुर जिल्लाको निंगथौखोंग अवांग खुनौ निवासी थोकचोम रोमेन सिंह (47)-लाई पक्राउ गरे जो केसीपी (नोयोन)-का सदस्य रहेको बताइएको छ जसलाई बिष्णुपुर पुलिस स्टेशन अन्तर्गत निंगथौखोंग प्रोजेक्ट गेटबाट पक्राउ गरिएको हो भने उसको कब्जाबाट सिम कार्डसितै एउटा मोबाइल फोन जफत गरियो।
यसै क्रममा इम्फाल पूर्वी जिल्लामा संचालित एक अभियानमा केसीपी (पीडब्ल्यूजी)- का सक्रिय क्याडर खाबेइसोई निवासी मोहम्मद सरत खान उपनाम चाचा (47)-लाई पक्राउ गरियो। उसलाई हिनगांग पुलिस स्टेशन अन्तर्गत मन्त्रिपुखरीस्थित मदर टेरेसा होमबाट पक्राउ गरियो।
यसरी नै इम्फाल पश्चिम जिल्लामा टेंग्नौपाल जिल्लाको मोरेह वार्ड नम्बर 6 निवासी सपाम पैखोम्बा मैतेई (20)-लाई पनि पक्राउ गरियो। केसीपी (ताइबांगनबा) गुटका सदस्यको रूपमा चिन्हित यस युवकलाई मायांग इम्फाल पुलिस स्टेशन अन्तर्गत लाफुपत तेरा हियांगखोंगबाट पक्राउ गरिएको हो। युवकबाट एउटा .32 बोरको पेस्तोल, एउटा खाली म्यागजिन, एउटा मोबाइल फोन र आधार कार्ड जफत गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा