कोलकाता, 24 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा सोमवार अबेर राति भएको भीषण वर्षाले जनजीवन पूर्ण रूपमा अस्त व्यस्त बनाएको छ। राजधानी कोलकातासहित छेउछाउका क्षेत्रहरू जलमग्न छन् र करेन्ट फैलिएकाले अहिलेसम्म 10 जनाको मृत्यु भएको छ।
राज्य आपदा प्रबन्धन विभागका एक वरिष्ठ अधिकारीले बुधवार बिहान यसको पुष्टि गर्दै भने, मृतकहरूमा 8 जना कोलकाताका रहेका छन्। पानीमा डूबेका नाङ्गो तारको चपेटमा आउॅंदा करेन्ट लागेर उनीहरूको मृत्यु भएको छ। मृतकहरूको संख्या बढ्ने आशंका छ।
मुख्यमन्त्री ममता ब्यानर्जीले यी घटनाहरूको लागि निजी बिजुली आपूर्ति कम्पनी सीईएससीलाई जिम्मेवार ठहराएकी छन्। उनले भनिन्, यदि कम्पनीले संरचना बलियो बनाउने ध्यान दिएको भए यी मृत्युहरूलाई रोक्न सकिने थियो।
सीईएससी प्रबन्धनले स्पष्ट गर्दै भने, आठ मध्ये अधिकांश घटना घरभित्र खराब वाइरिङका कारण भएको छ। दुई दुर्घटना करेन्ट लागेर र एउटा सिग्नल कियोस्कमा भयो। कम्पनीले अगाडि सतर्कता अपनाउने बताएको छ।
विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारी र भाजपा नेता अमित मालवीयले आरोप लगाउॅंदै भने, मौसम विभागले अगावै भारी वर्षाको चेताउनी दिएको थियो, तर राज्य सरकारले कुनै तयारी गरेन। यस कारण हल्का पानी पर्दा पनि कोलकाता जलमग्न बनेको छ र धेरैले आफ्नो ज्यान गुमाएका छन्।
लगातार वर्षाका कारण कोलकाता पूर्ण रूपमा ठप्प बनेको छ। बुधवार बिहान पनि शहरका अधिकांश सडकहरू जलमग्न थिए, जसकारण यातायात प्रभावित रह्यो। सियालदह र दक्षिण रेलवेका धेरै ट्रेनहरू रद्द गरिएका छन् र मेट्रो सेवाहरू पनि बाधित भए। हवाई अड्डामा 60 भन्दा धेरै उडान रद्द गरिए भने 40 भन्दा धेरै उडानहरू निर्धारित समयमा उड्न सकेन।
वर्षाको असर दुर्गा पूजा तयारीहरूमाथि पनि परेको छ। धेरै पण्डालहरू जलमग्न भएका छन् र सजावटका कामहरू ठप्प बनेका छन्। एक पूजा आयोजकले भने, सोमवार सॉंझदेखि पण्डाल सजाउने काम ठप्प छ। मंगलवार पनि दिनभरि पानी परेकाले कुनै काम भएन र बुधवारको स्थिति पनि यस्तै देखिॅंदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी