खरसाङ, 25 सेप्टेम्बर (हि.स.)। खरसाङको वार्ड नम्बर 9 अन्तर्गत टुरिस्ट लजमुन्तिर रहेको सुधपा टोलमा पैह्रोले भत्काएको सडक र कल्वट मरमत्ति कार्यपछि बाइपास रोड खोलिएको छ। गत 8 अगस्तको दिन लगातार परेको पानीले गर्दा उक्त कल्वट भत्किएपछि खरसाङको बाइपास रोड बन्द भएको थियो।
पैह्रोले भत्काएको कल्वटको मरमत्ति कार्य जीटीएमार्फत् खरसाङ अभियान्त्रिकी विभागले गत 13 अगस्तदेखि शुरु गरेको थियो भने आज यसको मरमत्ति कार्य पूरा भएपछि आधिकारिक रूपमा गाडीहरुको लागि खोलिएको छ। मरमत्तिको कार्य समाप्त भएपछि बाइपास रोड खोलाउन क्षेत्रीय सभासद श्याम शेर्पा, खरसाङ ट्राफिक पुलिसका प्रभारी बीरेन्द्र छेत्री, विभागीय अधिकारीहरु र अन्यहरु उपस्थित रहेका थिए।
अब यो रोड खोलिएर गाडीहरु कुद्न थाले 20 देखि 30 प्रतिशत गाडीहरु यो रोड भएर कुद्दा खरसाङ बजारमा ट्राफिक समस्या केही हदसम्म कम रहने बताइएको छ। तर, यो बाइपास रोडलाई केवल साना र हल्का गाडीहरुको लागि मात्र खोलिएको छ भने ठूल्ठूला र भारी गाडीहरु कुदाउन भने अनुमति दिइएको छैन।
28 नम्बर खरसाङ चिमनी देवराली समष्टिका सभासद श्याम शेर्पाले यो बाइपास रोड बन्द हुँदा ट्राफिक व्यवस्थापनमा धेरै असुविधा भएको र आजदेखि अफिसियल रुपमा रोड खोलिएको जानकारी गराए। उनले यसको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिए। उनले यो रोड केवल लाइट गाडीहरुको लागि र हेभी गाडीहरुको लागि होइन भनी स्पष्ट गरेका छन्।
उनले दशैंको अवसरमा खरसाङमा हुने फूलपाति शोभायात्राको समय अघि नै बाइपास रोड खोलिएपछि फुलपाति शोभायात्राको समय पनि केही हदसम्म ट्राफिक सहज हुने सम्भावना व्यक्त गरे। उनले यस बाइपास रोडमा वान वे ट्राफिक खोलाउन कसैले लिखित रुपमा विभागलाई पत्राचार गर्छ भने विभागसित बसेर के कस्ता नियमहरु छन्, त्यो सभामा बसेर निर्णय गरिने पनि बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक