गान्तोक, 28 सेप्टेम्बर (हि.स.)। सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले एसकेएम सरकारअन्तर्गत उच्च शिक्षाको तीव्र निजीकरणबारे गम्भीर चिन्ता व्यक्त गरेको छ।एसडीएफले विज्ञप्तिमा भनेको छ, २४ सेप्टेम्बर, २०२५ मा जारी विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को नोटिफिकेशनले सिक्किमका पाँच निजी विश्वविद्यालय — मेधावी स्किल्स युनिभर्सिटी, सिक्किम अल्पाइन युनिभर्सिटी, सिक्किम ग्लोबल टेक्निकल युनिभर्सिटी, सिक्किम इन्टरनेशनल युनिभर्सिटी, सिक्किम स्किल युनिभर्सिटी — ले अनिवार्य नियामक मापदण्ड उल्लंघन गरेको जनाएको छ। यी संस्थानहरूले ऐन अनुसार आवश्यक विवरण सार्वजनिक नगरेको र पब्लिक सेल्फ डिस्क्लोजर वेबमा अपलोड नगरेको पाइएको छ।एसडीएफले भनेको छ, “सानो राज्य सिक्किममा पाँच विश्वविद्यालयमाथि कारबाही हुनु र ठूलो राज्य उत्तर प्रदेशमा मात्र चार केस हुनु गम्भीर चिन्ताको विषय हो।” पार्टीले सरकारलाई तुरुन्तै स्वतन्त्र समीक्षा गर्न, कानुनी वैधता, शैक्षिक स्तर र वित्तीय पारदर्शिता जाँच गर्न माग गरेको छ।पार्टीका प्रवक्ता शैल राईले भने, “ एसडीएफले माग गर्दछ कि एसकेएम सरकारले तत्कालै स्वतन्त्र र व्यापक समीक्षा प्रक्रिया सुरु गरोस्, जसमा हालै स्थापना भएका सबै निजी विश्वविद्यालयहरूको कानुनी वैधता, शैक्षिक विश्वसनीयता, वित्तीय पारदर्शिता र यूजीसी मापदण्डअनुसारको अनुपालन मूल्याङ्कन समावेश हुनुपर्छ।यसबाहेक, सरकारले यी विश्वविद्यालयहरूले किन यूजीसीका नियमहरूको प्रत्यक्ष उल्लंघन गरे भन्ने कारण तत्कालै छानबिन गरोस् र आवश्यक सुधारात्मक कदम चालोस्। शिक्षा विभागले पनि सार्वजनिक रुपमा विस्तृत र स्पष्ट बयान दिएर यी गम्भीर त्रुटिहरूको जवाफ दिनैपर्छ। किनकि यी विश्वविद्यालयहरू एसकेएम सरकारको ‘ब्रेनचाइल्ड’ हुन्, त्यसैले यसका सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ र यी अनियमितताबीच विश्वविद्यालयहरू कसरी सञ्चालन भइरहेका छन् भन्ने स्पष्ट पार्नुपर्छ।एसडीएफले भनेको छ, सिक्किमका जनताले शिक्षाको क्षेत्रमा गुणस्तरमा सम्झौता सहने छैनन्। हामी विद्यार्थीको हित र शैक्षिक मापदण्डलाई सुरक्षित गर्न पारदर्शिता, जवाफदेहीपन र गुणस्तरप्रति दृढ प्रतिबद्धता माग गर्दछौं।
हिन्दुस्थान समाचार / बिशाल