गान्तोक, 06 सेप्टेम्बर (हि.स.)। सिक्किमबाट कथा साहित्यमा लामो समयदेखि अभ्यास गरिरहेकी कथाकार उषा शर्माको कथा सङ्ग्रह 'गन्तव्य' माथि विमर्श गन्तव्य डिस्कोर्स सम्पन्न भयो। चिया कविता सिक्किमद्वारा आयोजित विमर्श कार्यक्रम आज नेपाली साहित्य परिषद् भवन गन्तोकमा सम्पन्न भयो।
वरिष्ठ साहित्यकार तथा समालोचक जय क्याक्टसले पर्यवेक्षण गरेको गन्तव्य डिस्कोर्समा कथाकारको कथा शिल्पदेखि लिएर क्राफ्ट, बिम्ब विषयवस्तु र वर्तमान अवस्थामा सिक्किम दार्जिलिङबाट लेखिने कथाको चेतहरूमाथि गहन विमर्श गरियो। डा. कृष्ण सापकोटाले सहजीकरण गरेको विमर्शमा अख्यानकार तथा समालोचक प्रवीण राई जुमेली, कवि अनुवादक सुधा एम राई तथा कथाकार समालोचक डा सुरज धड्कनले कथाकृति 'गन्तव्य' मा रहेका गुण तत्व र भविष्यको निम्ति कथाकारले गर्नुपर्ने थप खिप्तीबारे गम्भीर चर्चा गर्दै निफन्ने काम गरे।
प्रवीण राई जुमेलीले पाठक र लेखक जिम्मेवारबोधमा अघि आउनुपर्ने तथा अहिलेसम्म आम पाठकको लागि लेखन भन्ने सोचबाट बाहिर निस्कनु पर्ने बताए। उनले आम पाठक भन्ने नहुने, तर सचेत पाठक बनाउने जिम्मेवारी पनि लेखकहरूको रहेको र त्यस्तै आधारमा सिर्जनालाई जिम्मेवार भएर गर्नुपर्ने बताए। यसैगरि डा. सुरज धड्कनले उषा शर्माले धेरै कुराहरू सरलतापूर्वक उठान गरेको तथा त्यसमा पनि कथाकारिता देखा परिहालेको हुनाले उनको कथा लेखनले महिला चेतलाई पनि फरक पारामा समेटेको बताए।
यसैगरि सुधा एम राईले विशेष रूपमा 'गन्तव्य' को नारीचेतमाथि आफ्नो दृष्टि राख्दै समाजमा महिलालाई हेरिने दृष्टिकोण र स्वयं लेखक नारी भएको कारण उनले सिर्जेका कथाहरूमा पनि त्यो स्वर देखिएको तथा त्यसलाई पनि कथाकारले फरक ढङ्गले प्रस्तुत गर्न भने सक्षम भएको बताइन्। उनले कथाका केही उदाहरणहरू पनि प्रस्तुत गरिन्।
अर्कोतिर सहजकर्ताले बडी पोल्टिक्स र बायो पोल्टिक्स जस्ता कुराहरूमाथि कथाकारले गरेको अदृष्य प्रयोगहरूमाथि पनि विमर्शमा ध्यान केन्द्रित गराउने कार्य गरेका थिए। जसलाई मेटो मार्दै पर्यवेक्षक जय क्याक्टसले आफ्नो पर्यवेक्षकीय मन्तव्यमा बायो पोल्टिक्स र बायो टेक्स्ड जस्ता कुराहरूलाई सजिलो प्रकारले कथाकारले उन्ने प्रयास गरेको बताए।
उनले कथाकार शर्माले उत्तराधुनिक दिशातिर उन्मुख कथाहरू लेखनको अभ्यास गरेको तथा अहिलेलाई मास्टरपिस नभनेर असल कथा सिर्जना भएको बताए। जसमा आउँदो कथाहरूमा त्यसले प्रसस्त नयाँपन र प्रयोगहरू बोक्ने सम्भावनाको बाटो खोलेको बताए। उनले समाजमा अहिले नयाँ सम्बन्धहरूको रूपमा विकास हुन थालेका कुराहरूलाई पनि कथाकारले समेटेर नलेखेका पाटोहरूलाई पनि समेटेको बताए। कथाकार शहरी जीवनमा रहेको हुनाले कथाले पनि नागरिय जीवनकै स्वाद बोकेको जनाए।
साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका संयोजक शङ्करदेव ढकाल, नेपाली साहित्य परिषद्का अध्यक्ष हरी ढुङ्गेल, सिक्किम अकादेमीका अध्यक्ष एसआर सुब्बा, परि प्रकाशनका अध्यक्ष सीपी शर्मा, साहित्यकार पेम्पा तामाङ, मन्दीप लामा, केएन शर्मा, रूद्र पौडेल, पूर्व मन्त्री बीएम रामुदामु, पूर्व विधायक डीबी टठाल, डा. पुष्प शर्मा, डा कविता लामा, डा. देवचन्द्र सुब्बा, कवि भीम ठटाल, डा. टीबी छेत्री, डा. उदय छेत्री, डा. गीता निरौला, डा. सुचन प्रधान. डा. रीना राई, डा. सारदा छेत्री, डा.प्रदीप त्रिपाठी, डा. पारसमणी दङ्गाल, पूर्ण योञ्जन, पीएल शर्मा, टीबी चन्द्र सुब्बा, निलम न्यौपाने, युवा बराल लगायत बाक्लो संख्यामा साहित्यिक हस्ती तथा अध्ययताहरूको उपस्थिति रहेको थियो।
चिया कविताका संयोजक प्रवीण खालिङद्वारा सञ्चालित कार्यक्रममा कथाकार बिमल काफ्ले र कथाकार निरज थापाले मौलिक कथा वाचन गरे। आफ्नो स्वीकारोक्ति राख्दै कथाकार उषा शर्माले आफ्नो कथाकृतिमा परेका कथाहरू समाजबाटै टिपिएका देखिएका पात्र-पात्राहरू रहेको तथा आफ्नो परिवारका सदस्यहरू पनि भविष्यमा गएर पात्रका रूपमा पनि अघि आउन सक्ने बताइन्। उनले यो विमर्शले उनलाई अझ थप जिम्मेवारी बोध भएको तथा अझ नयाँ ढङ्गमा कथा लेखनको अभ्यासमा लाग्ने प्रतिबद्ध बनाएको जनाइन्।
हिन्दुस्थान समाचार / बिशाल