भाजपा युवा मोर्चा दार्जिलिङ जिल्लाद्वारा नयाँ जीएसटी दर प्रस्तावको स्वागत
भाजपा युवा मोर्चा दार्जिलिङ जिल्लाद्वारा नयाँ जीएसटी दर प्रस्तावको स्वागत


दार्जिलिङ 06 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टीको युवा एकाई दार्जिलिङ जिल्लाले नयाँ जीएसटी प्रस्तावलाई स्वागत गरेको छ। भारतीय जनता पार्टीको युवा मोर्चा दार्जिलिङ जिल्ला उपाध्यक्ष सुपेन्द्र प्रधानले प्रेस विज्ञप्तिमा वित्त मन्त्री निर्मला सीतारमणको नेतृत्वमा ५६औं जीएसटी परिषद्ले ऐतिहासिक सुधारको घोषणा गरेको उल्लेख गरेका छन, जसमा ५% र १८% को सरलीकृत कर स्ल्याब, विलासिता र अहितकर वस्तुहरूको लागि ४०% स्ल्याब घोषणा गरिएको छ।

उनले यस छुटले आर्थिक वृद्धिलाई बढावा दिँदै विपन्न, किसान र लघु उद्यमीहरूमाथिको वित्तीय भार उल्लेखनीय रूपमा कम गर्नेछ भनेका छन्। उनले अत्यावश्यक वस्तुहरूमा जीएसटी छुटले दैनिक उपभोग्य वस्तुहरूको किफायती उपलब्धता सुनिश्चित गरी सीमान्तकृत समुदायको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने बताएका छन्। उनले सरलीकृत कर संरचनाले अनुपालन लागत घटाएर र व्यवसाय गर्न सजिलो बनाउँदै ग्रामीण अर्थतन्त्रको मेरुदण्ड, साना व्यवसायहरू र एमएसएमईहरूलाई अझ सशक्त बनाउने आज प्रेस बयानमा बताएका छन्।

उनले दशैं र दिवाली उपहार प्रदान गर्न दूरदर्शी नेतृत्वको लागि प्रधानमन्त्री नरेन्द्र मोदीप्रति गहिरो आभार व्यक्त गरेका छन्। यसैगरी, उनले जीएसटी परिषद्लाई समतामूलक, व्यवसाय - मैत्री कर ढाँचातर्फ डोऱ्याउन गरेको दृढ प्रयासको लागि केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणलाई पनि हार्दिक धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande