गान्तोक, 06 सेप्टेम्बर (हि.स.)। बहु-विभागीय टोलीले यसै वर्ष गत 20 अगस्तदेखि शुरू गरेको उच्च-उचाइका हिमनदी तालहरूको अध्ययन अभियान समाप्त भएको छ। यस अभियानमा डीएमजी, सिक्किम पुलिस, एसएसडीएमए, एसयु, सीडब्ल्युसी, जीएसआई, एनआईएच, एनआईडीएम, सीडब्ल्युपीआरएस, एचपीएसडीएमए, डीजीआरई र आईपीआर विभागका सदस्यहरू सामेल थिए।
राज्य विज्ञान र प्रौद्योगिकी विभाग अनुसार, टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। टोली ए ले डोल्मा सम्पा र सोरा फनेल क्षेत्रमा आफ्नो उद्देश्य सफलतापूर्वक पूरा गरेर 26 अगस्तका दिन फर्कियो, जबकि टोली बी दक्षिण ल्होनाक ताल तर्फ अघि बढ्यो। त्यहाँबाट, उप-टोली बी1 (सीडब्ल्युसी, जीएसआई, एनआईएच, एचपीएसडीएमए र डीजीआरई) 29 अगस्तका दिन गान्तोक फर्कियो भने उप-टोली बी2 (डीएसटी, एसयु र आईपीआर) 1 सेप्टेम्बरका दिन थाङ्गु फर्कनुअघि चाङसाङतिर अघि बढ्यो। यसै क्रममा 2 सेप्टेम्बरमा टोली बी2 युल्हे काङ्से ताल तर्फ आफ्नो यात्राको लागि तयारी गऱ्यो।
यस वैज्ञानिक अभियान अन्तर्गत पहिलो पटक उत्तरी सिक्किमको युल्हे काङ्से ताल (16,378 फिट) भ्रमण गरिएको बताइएको छ, जुन उच्च उचाइमा रहेका हिमाली तालहरू र हिमनदी पर्यारणको अध्ययनमा एक कोसेढुङ्गा हो। यस अन्वेषणले तालको गहिराइ, तलछट संरचना र क्षेत्रीय जलविज्ञान र जलवायु परिवर्तनसँग सम्भावित सम्बन्धहरू सहित मूल्यवान आधारभूत डेटा प्राप्त गरेको कुरा उल्लेख छ, जसले पूर्वी हिमालयमा कमजोर पहाडी पारिस्थितिक प्रणालीहरूको गहिरो बुझाइमा योगदान पुर्याउने छ।
विभाग अनुसार, अभियानको 15औं दिन (3 सेप्टेम्बर) टोली थाङ्गुबाट प्रस्थान गऱ्यो र युल्हे काङ्से आधार शिविर पुग्यो। भोलिपल्ट, 4 सेप्टेम्बरका दिन टोलीले युल्हे काङ्से तालको लागि पदयात्रा शुरू गऱ्यो, जहाँ पहिलो बाथिमेट्रिक सर्वेक्षण र तलछट नमूना शुरु गर्नु अघि परम्परागत पूजा समारोह आयोजना गरियो। यसपछि, टोली 5 सेप्टेम्बरका दिन युल्हे काङ्से आधार शिविरबाट फर्किएर लाचुङ आइपुग्यो। अभियानको 18औं दिन 6 सेप्टेम्बरमा टोली अभियानको यो चरण समाप्त गर्दै सफलतापूर्वक गान्तोक फर्किएको छ।
अभियान टोलीहरू धेरै रोचक निष्कर्षहरू लिएर फर्किएका छन्, जसले उच्च-उचाइ ताल प्रणालीको भू-आकृति विज्ञान, जलविज्ञान र जलवायु अन्तरक्रियामा नयाँ अन्तर्दृष्टि प्रदान गर्ने अपेक्षा गरिएको विभागले बताएको छ। यो अभियान आईटीबीपी, भारतीय सेना, स्थानीय जुम्सा समुदाय र खाङ्ग्री टुर्स एण्ड ट्रेकको समर्पित सहयोगबाट सफल बनेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल