मुख्यमन्त्रीले गरे नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्र निर्माण गर्ने घोषणा
नाम्ची, 06 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्रको निर्माण गर्ने घोषणा गरेका छन्। मुख्यमन्त्रीले आज नामथाङको काब्रेमा आयोजित राज्यस्तरीय इन्द्रजात्रा समारोहमा उक्त घोषणा गरेका हुन्। उनले प्रत्येक समुदायको समृद्ध संस्कृति, परम्परा र भाषाको संरक्षणको वकालत गर्दै काब्रेमा नेवार समुदायको लागि सांस्कृतिक एवं धरोहर केन्द्रको निर्माण गर्ने घोषणा गरे।
समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री तामाङले इन्द्रजात्राको सबैमा हार्दिक अभिवादन व्यक्त गर्दै विविधतामा एकता झल्काउने यो पर्व नेवार समुदायको लागि मात्र नभई सम्पूर्ण राज्यको लागि ठूलो महत्व राख्छ भनी बताए। उनले ग्रामीण क्षेत्र काब्रेमा राज्यस्तरीय कार्यक्रम आयोजन गर्ने आयोजक समितिको निर्णयको सराहना गर्दै यसले स्थानीय मानिसहरूलाई उपलब्ध गराउने आर्थिक अवसरहरूमाथि प्रकाश पारे। उनले वैश्विक सहभागिता र सांस्कृतिक आदान प्रदान सुनिश्चित गर्दै अर्को वर्ष अन्तरराष्ट्रिय स्तरमा इन्द्रजात्रा महोत्सव आयोजन गर्ने प्रोत्साहित गरे।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा स्थानीय भाषाहरूको संरक्षण र संवर्धनका लागि राज्य सरकारले शुरू गरेका विभिन्न पहलहरूको बारेमा पनि जानकारी गराए। उनले भाषा अध्ययनमा धेरैभन्दा धेरै विद्यार्थीहरूको भर्ती सुनिश्चित गर्न र सकारात्मक शैक्षिक परिणामहरू हासिल गर्नका लागि समुदायको संलग्नतामा जोड दिए। विधायकद्वय सन्जित खरेल र एनबी प्रधानले राखेका मागहरूमाथि बोल्दै मुख्यमन्त्रीले सिच्छेमा नेवारी भवनको निर्माण कार्य पूरा गर्न राज्य सरकारले पर्याप्त वित्तीय सहायता प्रदान गरेको र डीपीएच रोडमा प्रस्तावित अर्को एउटा भवनलाई पनि अन्तिम रूप दिइने जानकारी गराए।
यस अतिरिक्त, मुख्यमन्त्रीले प्रधान समुदायबाट बक्सिङ च्याम्पियन जसलाल प्रधानको सम्मानमा खामदोङमा जसलाल प्रधान बक्सिङ एकेडेमीको स्थापनाबारे पनि अवगत गराए। विकासीय मुद्दाहरूमाथि बोल्दै मुख्यमन्त्रीले मल्ली, नाम्ची र नामथाङ जस्ता सुख्खा क्षेत्रहरूमा पानीको अभावलाई सम्बोधन गर्न परियोजना शुरू गर्ने जानकारी गराए। उनले स्थायी स्थलको टुङ्गो नलागेसम्म नामथाङ एसडीएम कार्यालय किरायको भवनबाट सञ्चालन हुने पनि जानकारी गराए। उनले आफ्नो सम्बोधनमा राज्यका 12 छुटेका समुदायलाई जनजातिको मान्यता दिलाउन सरकारले गरिरहेको प्रयासहरूको बारेमा पनि विस्तारपूर्वक बताए।
कार्यक्रमलाई विधायक सन्जित खरेल, विधायक एनबी प्रधान र सिक्किम नेवा गुठीका अध्यक्ष मणिकुमार प्रधानले पनि सम्बोधन गरेका थिए। यस अवसरमा केशवचन्द्र प्रधान र खगेन्द्र प्रधानलाई रेवा रत्न सम्मानले सम्मानित गरियो। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राई, विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरूको पनि उपस्थिति थियो।
हिन्दुस्थान समाचार / बिशाल