सार्वजनिक पुस्तकालय दिवस अन्तर महाविद्यालय कविता प्रतियोगितामा खरसाङ कलेज प्रथम
सार्वजनिक पुस्तकालय दिवस अन्तर महाविद्यालय कविता प्रतियोगितामा खरसाङ कलेज प्रथम


खरसाङ, 06 सेप्टेम्बर (हि.स.)। जीटीए स्तरीय अन्तर महाविद्यालय कविता प्रतियोगितामा खरसाङ कलेजले प्रथम स्थान प्राप्त गरेको छ। देशबन्धु जिल्ला पुस्तकालय र जीटीएको संयुक्त तत्वावधानमा ‘सार्वजनिक पुस्तकालय दिवस 2025' मा आयोजित प्रतियोगितामा खरसाङ कलेजकी छात्रा प्रशन्नता छेत्रीले प्रथम स्थान हासिल गरिन्।

प्रतियोगिता अन्तर्गत नेपाली र अङ्ग्रेजी दुवै भाषामा स्वरचित कविता प्रतियोगिता आयोजना गरिएको थियो। प्रत्येक महाविद्यालयबाट एकदेखि चारवटासम्म कविता पठाउनु पर्ने आह्वान गरिएको थियो। खरसाङ कलेजबाट अङ्ग्रेजी र नेपाली भाषामा चारजना विद्यार्थीहरूले भाग लिएका थिए। तीमध्ये नेपाली मेजर तेस्रो सत्रकी छात्रा प्रशन्नता छेत्री पहिलो चरणको प्रतिस्पर्धाबाट छनौट भइन्।

31 अगस्तको दिन सार्वजिनक पुस्तकालय दिवसको समापन कार्यक्रममा अन्तिम चरणको प्रतिस्पर्धा भयो। छनौट भएका कविहरूले आफ्ना कविताहरू प्रतियोगितामा पठन गरेर सुनाए र त्यसकै आधारमा अन्तिम परिणाम घोषणा गरियो। अन्तिम राउण्डमा खरसाङ कलेजले दार्जिलिङ सरकारी महाविद्यालय र बिजनबारी डिग्री कजेजलाई पछाडि पार्दै प्रथम स्थान ओगट्न सफल भयो।

विद्यार्थीको सफलतामा कलेजका प्राचार्य समीर बलले आयोजक समिति र प्रतियोगी प्रशन्नता छेत्रीलाई बधाई दिएका छन्। उनले विद्यार्थीको सफलता भनेको कलेजको उन्नति हो, कलेजकै सफलता हो भनी प्रशंसा गरेका छन्। विद्यार्थी उपयोगी यस्ता प्रतियोगिताहरूमा कलेजले पूर्ण सहयोग र प्रोत्साहन गर्ने बताउॅंदै हालमा खरसाङ कलेजलाई विभिन्न कार्यक्रम र प्रतियोगिताहरूमा सफलता प्राप्त भइरहेकोमा उनले हर्ष व्यक्त गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande