
कुआलालम्पुर, १० जनवरी (हि.स.)। भारतकी स्टार ब्याडमिन्टन खेलाडी पीवी सिन्धुको शानदार यात्रा शनिबार मलेशिया ओपन सुपर–१००० ब्याडमिन्टन प्रतियोगिताको महिला एकल सेमिफाइनलमा समाप्त भयो। सिजनको पहिलो प्रतियोगितामा सिन्धुले चीनकी विश्व नम्बर दुई खेलाडी वाङ झीयीसँग सोझा सेटमा १६–२१, १५–२१ ले हार बेहोर्नुपर्यो।
दुईपटककी ओलम्पिक पदक विजेता सिन्धु दबाउलाई निरन्तर कायम राख्न असफल भइन् र खेलका क्रममा उनका तर्फबाट धेरै अनफोर्स्ड त्रुटिहरू देखिए। यो खेल सिन्धुका लागि विशेष पनि थियो, किनकि उनी गत वर्षको अक्टोबरपछि पहिलो पटक कुनै प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी थिइन्। खुट्टाको चोटबाट निको भएर पुनरागमन गरेकी सिन्धुले दोस्रो गेममा ११–६ को अग्रता पनि जोगाउन सकिनन्।
यस हारसँगै प्रतियोगितामा भारतको अभियान पनि समाप्त भयो।
मुकाबलाको सुरुआतमा सिन्धुले उच्च वरीयताकी प्रतिद्वन्द्वीलाई कडा चुनौती दिइन्। उनले शक्तिशाली स्म्यासहरू प्रहार गरिन् र आफ्नो अग्लो कदको फाइदा उठाउँदै ५–२ को अग्रता बनाइन्। तर वाङको सटीक नेट खेल र उत्कृष्ट टचका कारण खेल बराबरीमा आयो।
वाङका केही गल्तीको फाइदा उठाउँदै सिन्धु ९–७ ले अघि बढिन्, तर इन्टरभलसम्म पुग्दा चिनियाँ खेलाडीले पुनरागमन गर्दै एक अङ्कको अग्रता लिइन्। यस क्रममा सिन्धु नेटमा असहज देखिइन्।
ब्रेकपछि दुवै खेलाडीलाई सटको लम्बाइ मिलाउन कठिनाइ भयो र स्कोर १३–१३ मा बराबरी रह्यो। त्यसपछि १५–१४ ले अघि रहेकी वाङले लगातार आक्रामक सट खेलिन्, जसले सिन्धुलाई दबाबमा पार्यो। वाङले सटीक लिफ्टसहित स्कोर १८–१४ पुर्याइन् र अन्ततः पहिलो गेम आफ्नो पक्षमा पारिन्।
दोस्रो गेमको सुरुआतमा सिन्धुले दुई अनफोर्स्ड त्रुटि गरिन् र १–३ ले पछि परिन्। तर उनले चाँडै पुनरागमन गर्दै उत्कृष्ट र्यालीको दममा ६–३ को अग्रता बनाइन्। वाङले अन्तर घटाइन्, तर सिन्धुले तीव्र कोणसहित कोर्टका कुनामा सट खेल्दै ब्रेकसम्म ११–६ को अग्रता कायम राखिन्।
ब्रेकपछि वाङले आक्रामक शैली अपनाइन्। यद्यपि सिन्धुले उत्कृष्ट नेट सटमार्फत १३–९ सम्म अग्रता जोगाइरहिन्। त्यसपछि पुनः सिन्धुबाट लगातार गल्तीहरू भए र वाङले १३–१३ मा खेल बराबरी गर्दै अग्रता हात पारिन्।
नेटमा भएको उत्कृष्ट आदान–प्रदानपछि वाङ १६–१३ ले अघि बढिन्। त्यसपछि सिन्धुले दुईपटक ब्याकलाइन बाहिर सट प्रहार गरिन् र एक ब्याकह्यान्ड नेट त्रुटिका कारण वाङले पाँच म्याच प्वाइन्ट पाइन्। अन्ततः सिन्धुको अर्को सट पनि बाहिर गयो र वाङले खेल जित्दै फाइनलमा स्थान बनाइन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी